धरानः धरानका पत्रकारलाई कोरोनाबाट सिर्जित तनाव व्यवस्थापन व्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना भएको छ ।
रुपान्तरण नेपालको आयोजनामा यस्तो तालिम आयोजना भएको हो । कार्यक्रममा प्रदेश सभामुख सभामुख भण्डारी, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता एवं प्रा.डा. निदेश सापकोटा, महिला सञ्जालकी अध्यक्ष सविता राई, अग्रज पत्रकार जनकऋषि राई, नेपाल पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष सन्तोष काफ्ले लगायत धरानका अधिकांश पत्रकारको उपस्थितिमा अभिमुखीकरण कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्दै सभामुख भण्डारीले यस्तो विषम परिस्थितिमा फ्रन्ट लाइनमा काम गर्ने पत्रकारहरूलाई यस्तो अभिमुखीकरण कार्यक्रमले रिपोर्टिङको सिलसिलामा तनावबाट कसरी मुक्त रहन सकिन्छ भन्नेबारेमा सहयोग पुग्ने बताए ।
कार्यक्रममा प्रतिष्ठानका प्रवक्ता एवं प्रा.डा. सापकोटाले तनाव सबैलाई हुने बताए । उनले आजकल सबैले आफूमा धेरै महसुस गर्ने विषय नै तनाव भएको बताउँदै आफूमा तनाव छ र त्यसलाई व्यवस्थापन गर्न आफैं लाग्नुपर्ने बताए । ‘मलाई तनाव छ भन्ने पनि सबैलाई थाहा छ । तर, व्यवस्थापन हुन नसक्दा डिप्रेसनको शिकार भइरहनुपरेको छ’, उनले थपे, ‘त्यसलाई सही तरिकाले उपलब्धि हासिल हुनेगरी प्रयोग गर्न सक्नुपर्छ, त्यसैले म भन्छु तनाव व्यवस्थापन आफैंबाट गरौं, तनाव होइन आफैंलाई व्यवस्थापन गर्ने कला हो, आफूसँग जे छ त्यो नदेख्ने र जे छैन त्यसप्रति आशक्ति हुने स्वभाव परास्त गर्न सक्नुपर्छ ।’
शारीरिक या मानसिक रूपमा बेचैनी हुनु, चिन्ताग्रस्त हुनु तनाव भएको बताउँदै उनले हाम्रो शरीर एक ठाउँमा छ तर मन अर्कै ठाउँ पुगिसकेको हुन्छ यही नै तनाव भएको बताए । ‘रोगको कारण तनाव होइन कि तनावको कारण रोग हो,’ उनले भने, ‘तनाव नभएको मानिस पनि बन्न सक्छौं हामी त्यसको लागि आफूलाई, आफ्नो मनलाई, आफ्नो स्वभावलाई, बानीव्यवहारलाई, आचरणलाई व्यवस्थापन गर्नुपर्छ ।’
आफ्नो हातमा नहुने, आफ्नो बसमा नहुने चिजको अनावश्यक तनाव लिएर फाइदा नहुने उनले बताए । ‘जुन कुरा आफ्नो हातमा छैन त्यसप्रति तनाव लिएर कुनै फाइदा हुँदैन । मानसिकरूपमा नकारात्मक सोचको विकास गर्नु, नकारात्मक ऊर्जा फैलाउनु, नकारात्मक कुरामा चासो दिनु र कुलत त्याग्न नसक्नु तनावका कारण हुन् ।’
शरीरमा उत्पन्न नकारात्मक ऊर्जाले शरीरका हर्मोनलाई समेत प्रभाव पार्छन् र तिनैले बेखुसी, आलस्य, अनिद्रा, अधैर्यतामा पु¥याउने उनको जोड थियो । ‘शरीरमा सकारात्मक ऊर्जा उत्पन्न भयो भने शरीरमा खुसी, आनन्द, शान्ति, प्रेम मिल्ने हर्मोनको विकास हुन्छ ।’
फोटोः लक्ष्मण थापा






