Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको मुख्य बजारको सडक ४ लेन

हाम्रो कोशी आवाज
असार १२ २०७७, शुक्रबार
धरानको मुख्य बजारको सडक ४ लेन

धरानः धरानको मुख्य बजार क्षेत्र ४ लेनको बनाइने भएको छ । धरान उपमहानगरपालिकाले आव ०७७–७८ को नीति तथा कार्यक्रममा चार लेनको बनाइने जनाइएको छ ।
नगरसभामा प्रस्तुत भएको नीति तथा कार्यक्रममा तीनकुनेदेखि शिवधारासम्मको सडकलाइ सहरी सडक बनाउने घोषणा गरिएको छ । जस अन्तर्गत तीनकुनेदेखि शिवधारासम्म ८० फुटको मापदण्ड कायम गरिने जनाइएको छ । यस्तै, मदन भण्डारी राजमार्ग र कोशी राजमार्गलाई बाइपास गर्ने समेत उल्लेख गरिएको छ ।
यसअघि विवादै विवादमा
धरानको मुख्य सडकबाट कि बाइबासबाट सडक जाने भन्ने विषयले लामो समय बजार तातिएको थियो । धरानको मुख्य सडकबाट विस्तार हुँदा मुख्य बजार नै नरहने भएपछि धरानमा सर्वाधिक चर्चा र चासोको विषय बनेको थियो ।
तर चीनसम्म जोड्ने जोगबनी किमाथाङ्कासम्मको ६ लेनको बाटो विस्तारका योजना धरानमा भने कहाँबाट लाने भन्ने विषयको विवाद अहिले पनि टुंगिएको छैन । सडकको बीचबाट दुवैतर्फ २५–२५ मिटर अर्थात् ५० मिटरको बाटो निर्माण गर्ने विषयमा धरान ८ तीनकुनेदेखि सिधै शिवधारा निकाल्ने विषयमा यी क्षेत्रमा रहेका घरधनी, व्यापारी व्यवसायीले विरोध गर्दै आएका छन् । विरोधपश्चात् सेउती खोला छेउबाट बाइपास सडक निर्माण गर्ने राष्ट्रिय योजना आयोगले योजनामै पारी सर्भे समेत गरेको थियो । त्यतिबेला पनि विवाद नभएको भने होइन ।
वाइपास सडकको डिपिआर तयार गर्न सर्वे नहँुदै विरोध शुरु भएपछि वाइपास सडकबाट प्रभावित सेउती करिडोरका सुकुम्बासीहरूले पनि आफूहरूको उठिबास हुने भन्दै विरोध गरेका थिए ।
धरानको मुख्य बजार क्षेत्रको घर जोगाउन सेउती करिडोरमा विकल्पकोरुपमा अघि सारिएको वाइपास सडकको डिपिआर तयार गर्न राष्ट्रिय योजना आयोगले जिम्मा दिएको कन्सल्टेन्सीबाट प्राविधिकहरू आएका थिए । वाइपास सडकको विरोधमा उत्रिएका सेउती पश्चिम किनाराका सुकुम्बासीहरुले कोशी राजमार्गको मापदण्ड मिचेर बनेका बजारको घर जोगाउन गरिब, सुकुम्बासीलाई विस्थापित गर्न लागेको भन्दै वस्ती संरक्षण समितिसमेत गठन गरेका छन् । नवगठित सेउती पश्चिम किनार वस्ती संरक्षण समितिले वाइपास सडकले प्रभावित हुने क्षेत्रमा विरोध रयाली गर्नुका साथै २ बुँदे मागसँगै सङ्घर्षका कार्यक्रमहरु पनि सार्वजनिक गरेको थियो ।
जोगवनी–किमाथाङ्का जोड्ने कोशी राजमार्ग सडक मापदण्डअनुसार धरानको बीच बजारमा विस्तार गर्न सम्भव नभएपछि बजारबासी र उपमहानगरपालिकाले सेउती करिडोरमा वाइपास सडकको विकल्प अघि सारेका थिए । राजमार्ग मापदण्डअनुसार ५० मिटरको हुनुपर्छ । हाल धरानको बीच बजार भएर गएको कोशी राजमार्ग मात्र १५ मिटर चौडा छ । सडक मापदण्डअनुसार कोशी राजमार्ग ५० (सेन्टरबाट २५–२५) मिटर हुनुपर्छ । कोशी राजमार्गलाई मापदण्डअनुसार विस्तार गर्दा धरानको भानुचोकदेखि छाताचोकबीचको मुख्य बजारको अस्तित्व नै नरहने भएपछि धरान उपमहानगरपालिकाले राष्ट्रिय योजना आयोगमा वाइपास सडकको प्रस्ताव पेश गरेको थियो ।
यता मुख्य सडकबासीले पनि यहाँबाट सडक निर्माण गर्दा ५० मिटर भनेपनि सडकको मापदण्ड अनुसार ७२ मिटर छोड्नुपर्ने भएकोले यहाँबाट सडक निर्माण गर्दा आधा दर्जन सामुदायिक तथा निजी विद्यालय, धरानका महत्वपूर्ण सामुदायिक वनहरू लगायतका थुप्रै ऐतिहासिक महत्व बोकेका भवनहरु भत्किने र २ हजार घर परिवार विस्थापित हुनुपर्ने अवस्था आउने बताउँदै आएका छन् ।
रानीदेखि धरानसम्मको ४९ किलोमिटर सडक मध्ये १४ किमी तराहरा–धरानसम्म ठेक्का लाग्न बाँकी रहेको आयोजनाले जनाएको छ । धरानको कोशी राजमार्ग अन्तर्गतको सडक ३० फिटको मात्र रहेकोले सडकलाई विस्तार गर्दा धरान बजार भित्रका घरहरु पर्ने भएकाले कहाँबाट सडक विस्तार गर्ने भन्ने विवादले धरान–तरहराको १४ किमी सडकको ठेक्का लाग्न सकेको छैन ।
धेरैका चिन्ता मुख्य बजारलाई वाइपास गर्दा धरान शुन्य बन्ने भन्ने छ भने धेरैले विरोध पनि गर्दै आएका छन् । सडक मापदण्डबमोजिम विस्तार गरिँदा धरान बजार विलय हुन्छ भने सयांंै घरधुरी जनता सुकुम्बासी हुन्छन् । धरान सडक बाइपास गरेर लाँदा ऐतिहासिक संरचना नष्ट हुने र घरहरू पनि भत्किने हुनाले बाइपास सडक नै उपयुक्त हुने धेरैको तर्क छ ।
प्रधानमन्त्री केपी शर्मा ओली धरान आउँदा बजार क्षेत्रका धरानेले चाहे भने सेउती खोलाको छेउबाट बाटो लैजाने कुरा गरेका थिए । प्रम ओलीले भानुचौकमा आयोजित सार्वजनिक कार्यक्रममै वाइपास सडकको लागि बजेट विनियोजन गरिदिने आश्वासन दिएका थिए । त्यतिबेला कतिपय नेताहरू प्रम ओलीले बोलेपछि त्यसैको राजनीति गर्न समेत पछि परेका थिएनन् । आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले धरानको एक कार्यक्रममा छ लेनको बाटो बजारबाटै लगिने बताएका थिए । मन्त्री कार्कीले बाइपास सडक बनाए धरानलाई ठूलो घाटा हुने भन्दै प्रदेशको प्रदेश सरकारको चाहना मुख्य बजारबाटै सडक बन्नुपर्ने रहेको बताउँदै आएका छन् ।
सडक मिचेर घर बनाइका व्यापारीहरूलाई संरक्षण गर्न केही राजनीतिक दलका नेताहरूले धरानलाई बाइपास गरेर सडक बनाउने अवधारणासमेत अघि सारेको पाइन्छ । तर मुख्य बजारलाई बाइपास गर्दा धरान शुन्य हुने चिन्ता धेरैको छ ।

प्रकाशित मिति: असार १२ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend