धरानः थलाहा खोलामा हामफालेर बेपत्ता भएका सुनसरी गढी गाउँपालिका–२ मुसहरी टोलका ४२ वर्षीय बब्लु भनिने बलराम ऋषिदेव मृत फेला परेका छन् ।
गत असार १४ गते बिहान १० बजे गढी गाउँपालिका–२ पानीट्याङ्की छेऊबाट खोलामा हाम फाली बेपत्ता भएका ऋषिदेवलाई खोजतलास गर्ने क्रममा मङ्गलबार बिहान साढे ९ बजे हाम फालेको स्थान भन्दा करिब दुई किलोमिटर दक्षिण सोही खोलामा जीलेवीको रूखमा अड्किरहेको अवस्थामा मृत फेला पारेको इलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ । मृतकको कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धान कार्य भइरहेको सो कार्यालयले जनाएको छ ।
यस्तै, इलाम र उदयपुरका २ स्थानमा खोलामा डुबेर २ जनाको मृत्यु भएको छ ।
इलामको देउमाई नगरपालिका–५ का २५ वर्षीय हरिप्रसाद चापागाई देउमाई खोलामा डुबिरहेको अवस्थामा मृत फेला परेका छन् ।
सोमबार दिउँसोदेखि हराइरहेका चापागाई मंगलबार बिहान साढे ८ बजे खोलामा डुबेर मृत अवस्थामा रहेको भन्ने जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय मंगलबारेबाट प्रहरी टोली खटि गई अनुसन्धान तथा कानुनी प्रक्रिया भइरहेको सो कार्यालयले जनाएको छ ।
यसैगरी उदयपुरको त्रियुगा नगरपालिका–१३ का ३८ वर्षीय सन्तोष भुजेलको बरुवा खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । मंगलबार दिउँसो सवा २ बजे बरुवा खोलामा पौडी खेलिरहेको अवस्थामा अचानक डुबेर मृत्यु भएको भन्ने जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी टोली खटि गई अनुसन्धान तथा कानुनी प्रक्रिया भइरहेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी उपरीक्षक दीपक पोखरेलले जानकारी दिए ।