धरानः पछिल्लो २४ घण्टामा नेपालमा थप ४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप ४८२ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको बताए । संक्रमित हुनेमा ११७ जना महिला र ३६५ पुरुष रहेका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या १४ हजार ४६ जना रहेका छन् ।
पछिल्लो २४ घण्टाको अवधिमा ४ हजार ८८६ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ । हासम्म २ लाख ३३ हजार २२७ जनाको कोरोना परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म क्वारेन्टाइनमा बस्नेको संख्या ४८ हजार ३६२ जना रहेका छन् भने ९ हजार ३६० जना आइसोलेसनमा रहेका छन् ।
सरकारले लागू गरेको लकडाउनको आज बुधबारदेखि १०० दिन पूरा भएको छ । कोरोनाभाइरसको संक्रमण र जोखिम न्यूनीकरणका लागि सरकारले गत चैत ११ गतेदेखि लकडाउन घोषणा गरेको थियो ।
प्रदेश १ मा ६०६ पुगे
प्रदेश १ मा २८ जना नयाँ कोरोना भाइरस संक्रमित थप भएका छन् ।
बुधबार प्रदेश १ मा २८ जनामा संक्रमण देखिएको हो ।
मन्त्रालयका अनुसार झापामा २०, मोरङ र इलाममा समान २, सुनसरी र ताप्लेजुङमा समान १ जनामा संक्रमण पुष्टि भएको हो । झापाको मेचीनगर नगरपालिकामा ६ महिला र एक पुरुष, बुद्धशान्ति गाँउपालिकामा २ महिला र ३ पुरुष, गौरादह नगरपालिकामा ३ महिला ४ पुरुष, गौरीगञ्ज गाँउपालिका १ पुरुष, मोरङको उर्लाबारी नगरपालिका र केराबारी गाँउपालिकामा १–१ पुरुषमा कोभिड १९ पुष्टि भएको हो ।
त्यसैगरी, इलामको सुर्योदय नगरपालिकामा २ महिला, सुनसरीको इटहरी उपमहानगरपालिकामा १ महिला र ताप्लेजुङको फुङलिङ नगरपालिकामा १ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यससँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ सय ६ पुगेको छ ।