Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

निजी विद्यालयका शिक्षक: भोकभोकै मर्ने अवस्थामा

हाम्रो कोशी आवाज
असार १८ २०७७, बिहिबार
निजी विद्यालयका शिक्षक: भोकभोकै मर्ने अवस्थामा

धरानः निजी विद्यालयमा कार्यरत् शिक्षक, कर्मचारी तलब माग्दै प्रदेश १ मा पनि शान्तिपूर्ण आन्दोलन गर्ने भएका छन् । संस्थागत विद्यालय शिक्षक युनियन (इष्टु) ले देशभर नै आन्दोलन गर्दैछ ।
असार १९ गते दिउँसो ३ बजे शुक्रबार इटहरी नगरपालिकाअगाडि सरकारको ध्यानाकर्षण आन्दोलन आयोजना गरिएको इष्टु सुनसरीका अध्यक्ष यज्ञराज श्रेष्ठले जानकारी दिए । ‘देशभरकै शिक्षक शान्तिपूर्णरूपमा आन्दोलित हुँदैछ, हाम्रो पनि सुनसरीको इटहरीमा पायक पर्ने हुनाले ध्यानाकर्षण गराउने खालको शान्तिपूर्ण आन्दोलन हुनेछ ।’ अहिलेसम्म निजी विद्यालयका शिक्षक, कर्मचारीका समस्याबारे सरकार, निजी विद्यालय सम्बद्ध संघसंस्था जोकोहीले पनि बोल्न नसकेको उनले गुनासो गरे ।
सचिव शम्भु रेग्मीले शिक्षक, कर्मचारीले चैतसम्मको तलब पाएको तर वैशाख, जेठको तलब पाउन नसकेको गुनासो पोखे । ‘हामीले त कम्तीमा चैतसम्मका पाएका छौं, अन्य शिक्षक, कर्मचारीले त माघ, फागुन, चैतकै पनि नपाएको अवस्था छ ।’ उनले भने । उनले लकडाउनको बहानामा शिक्षकहरू निकालिनु परेको पीडा साथै तलब नपाएर पीडा खपिरहनुपर्ने हुनाले सरकारको ध्यानाकर्षणको लागि आन्दोलनका कार्यक्रम थालिएको बताए । उनले विरोध प्रदर्शन शान्तिपूर्ण हुने र सामाजिक दुरी कायम राख्दै माक्स, पञ्जा अनिवार्य गरिएको बताए ।
यस्तै, प्रदेश १ का अन्य सहर, बिर्तामोड र विराटनगरमा पनि यस्तो खालको आन्दोलनका कार्यक्रम रहेको सचिव दीपक भट्टराईले जानकारी दिए । ‘निजी विद्यालयमा काम गर्ने शिक्षक तथा कर्मचारीहरूले विगत चार महिनायता पनि तलब नपाएको अवस्था छ, विभिन्न विद्यालयहरूले शिक्षक–कर्मचारीहरू धमाधम निकाल्न थालेको, राज्यले पनि यसतर्फ कुनै चासो नदेखाएकोले हामी आन्दोलित बनेका हौं’, उनले थपे, ‘बिनातलब भोकभोकै मर्ने अवस्थामा आइपुग्दा पनि विद्यालय सञ्चालकहरू चुप लाग्नु अर्को आश्चार्यको कुरा हो ।’
उनले निजी विद्यालयका शिक्षक निरीह प्राणी रहेको पनि बताए । ‘एकातिर जागिर जाला कि भन्ने चिन्ता, अर्कोतिर शिक्षक पनि आन्दोलनमा जानुपर्ने भन्ने अवस्था छ, हामी निरीह प्राणी नै हौं, न हाम्रो बारेमा कोही बोलिदिन्छ न हामी बोल्न सक्छौं तर अब हामी शान्तिपूर्ण आन्दोलनमा भएपनि जान्छौं ।’ अझै स्कुल नलाग्ने लकडाउन खुकुलो नै भएपनि यसरी नै जाने हो भने रोगले भन्दा पनि भोकले ज्यादा मर्ने सम्भावना रहेको उनले बताए । ‘हाम्रा पनि परिवार छन्, हामी पनि त्यही तलबले नै बाँचेका छौं तर त्यही नपाएपछि अवस्था के होला ?’ उनले भने ।
उनले निजी विद्यालयहरूले कम्पनीको हैसियतले राज्यलाई कर तिर्दै आएको र शिक्षकहरूले पनि आफ्नो तलबको एक प्रतिशत कर तिर्दै आएको हुनाले राज्य बढी जिम्मेवार हुनुपर्ने तर्क राखे । उनले निजीका शिक्षकले अहिले पनि भोकभोकै भर्चुअल कक्षा सञ्चालन गरिरहेको बताए । ‘कतिपय विद्यालयहरूले भर्चुअल माध्यमबाट वैशाखदेखि पढाइरहेका पनि छन् । दैनिक गृहकार्य दिइरहेका छन् । तर भोकभोकैको अवस्था पनि छ ।’ उनले भने । उनीहरू शहरका निजी विद्यालयमा शिक्षण गर्ने धेरै शिक्षक भाडामा बसिरहेका बताउँदै उनीहरूको हालत के होला भन्ने चिन्ता झनै थपिएको बताउँछन् ।
‘हो शुल्क नउठे शिक्षकले तलब पाउँदैनन्’, रेग्मी थप्छन्, ‘तलब दिन सक्दिनँ भनेर पन्छिनुभन्दा पनि निकाल्नपट्टि लागेपछि झनै समस्या थपिएको छ ।’ उनले थपे, ‘कालो आए गोरो जान्छ भन्ने पारामा गएर भएन, शिक्षकहरूलाई पूरापूर तलब नभएपनि बाँच्न सक्ने वातावरण बन्नुपर्छ भन्ने हाम्रो मुख्य माग हो, यो अवस्थाबाट पार लगाउन राज्य बढी जिम्मेवार हुने कि ।’

प्रकाशित मिति: असार १८ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend