धरानः तेह्रथुम आठराई गाउँपालिका–५ सुकेपोखरी सार्की डाँडा भन्ने स्थानमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा आठराई गाउँपालिका–५ का ३८ वर्षीय ललित खवास र सोही स्थानका ४० वर्षीय श्याम मगर रहेका छन् । शुक्रबार बेलुका ७ बजे श्री केजी निर्माण सेवाको मे १ त ६२१९ नम्बरको ट्याक्टर चुहानडाँडाबाट सुकेपोखरीतर्फ जाने क्रममा एक्कासी १० मिटर तल खसी दुर्घटना हुँदा ट्याक्टरमा रहेका खवास र मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।
ट्याक्टरमा रहेका अन्य ५ जना समेत घाइते भएकोले उनीहरुको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको छ । यसैगरी शुक्रबार अपराह्न साढे ४ बजे सुनसरी बर्जु गाउँपालिका–२ स्थित विराटनगर सीतागंज सडकखण्डमा ना७ख २६२६ नम्बरको टिप्परले को२ह ३२४२ नम्बरको अटो टेम्पोलाई ठक्कर दिँदा अटोमा सवार रहेका ५५ वर्षीय शिवु महत्तोको मृत्यु भएको छ ।
यस्तै, इटहरी–७ बस्ने २० वर्षीया स्वस्तिका चौधरीको मोटरसाइकल दुर्घटनाबाट मृत्यु भएको छ । शुक्रबार साँझ साढे ५ बजे इटहरी–१७ स्थित राजमार्गमा को११प २६५८ नम्बरको मोटरसाइकलले को२३प ५५५६ नम्बरको मोटरसाइकललाई पछाडीबाट ठक्कर दिई दुर्घटना हुँदा को२३प ५५५६ नम्बरको मोटरसाइकल पछाडी सवार रहेकी चौधरीको उपचारको क्रममा नोवेल हस्पिटल बिराटनगरमा शुक्रबार साँझ सवा ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।