Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

तपाईसँग दुईभन्दा बढी सिमकार्ड छ ? अब पाइँदैन, अरूको नामको सिम पनि चलाउन नपाइने

हाम्रो कोशी आवाज
असार २१ २०७७, आइतबार
तपाईसँग दुईभन्दा बढी सिमकार्ड छ ? अब पाइँदैन, अरूको नामको सिम पनि चलाउन नपाइने

धरानः अब सिमकार्ड लिन नयाँ व्यवस्था लागू भएको छ । अब अरुको नामको सिम चलाउन नपाइने भएको छ ।
दूर सञ्चार सेवा प्रदायक कम्पनीहरूको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायक कम्पनीहरूलाई एक व्यक्तिको नाममा दुईभन्दा बढी सिमकार्ड जारी नगर्न निर्देशन दिएको हो ।
पछिल्लो समय डिजिटल बैंकिङको कारोबार मोबाइलबाट हुन थालेपछि बढी सिमकार्ड लिने गरेका छन् । आफ्ना नाममा सिमकार्ड लिएर अरुलाई दिँदा आइपर्न सक्ने जोखिम न्यूनीकरण गर्न एक व्यक्तिले एक सेवा प्रदायकबाट दुई वटाभन्दा भन्दा बढी सिमकार्ड लिन नपाउने व्यवस्था गर्न निर्देशन दिएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताए । नाबालिकका लागि भने अभिभावकको नाता प्रमाणित र अन्य आवश्यक कागजात उपलब्ध गराएको खण्डमा एउटा मात्रै सिमकार्ड लिन पाइने छ ।
पछिल्लो समय सिमकार्ड आर्थिक कारोबारसँग पनि जोडिएको छ । सिमकार्डबाटै बैंकिङ तथा मोबाइल बैंकिङ लगायतका कारोबार हुने भएकाले पनि यस्तो खालको निर्णय आवश्यक रहेको प्रवक्ता अर्यालले बताए । ‘हाम्रो उद्देश्य भनेको कार्डको दुरुपयोग नहोस् भन्ने हो,’ उनले भने ‘एउटै व्यक्तिको नाममा धेरै कार्ड हुँदा अपराध सम्बन्धी विभिन्न गतिविधिमा प्रयोग हुन सक्छ भन्ने हो अर्थात मिसयूज नहोस् भन्नका लागि यो व्यवस्था गरिएको हो ।’
सो निर्णयलाई कार्यान्वयनमा ल्याउन आइतबार प्राधिकरणले सेवा प्रदायक कम्पनीहरूलाई पत्र काटेर यसबारे जानकारी गराएको छ । प्राधिकरणले गरेको यो व्यवस्था कार्यान्वयनमा आएसँगै दुईभन्दा बढी सिमकार्ड लिएका व्यक्तिले सिमकार्ड छोड्नुपर्ने हुन्छ । पुराना प्रयोगकर्ताको हकमा समय सीमा तोकेर सेवा प्रदायकले यो व्यवस्था अनुसार अर्को व्यक्तिको नाममा नामसारी गर्न निर्देशन दिने भएको छ । बढी सिमकार्ड बिक्री गरेमा सेवा प्रदायक कम्पनीहरू सजायको भागिदार हुनेछन् ।

प्रकाशित मिति: असार २१ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend