विराटनगरः प्रहरी जवान १३७ औं समूहको आधारभूत तालिममा सहभागी ९८ जना महिलासहित ८२१ जना प्रहरी जवानहरू दीक्षित भएका छन् ।
१ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र रानी विराटनगरमा ५८७ जना, १ नम्बर प्रदेश सशस्त्र प्रहरी गण रानीमा १३९ जना र दंगा नियन्त्रण प्रहरी गण दुहवीमा ९८ जना प्रशिक्षार्थीहरूलाई प्रशिक्षण दिई १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्रको प्राङ्गणमा संयुक्त रुपमा दिक्षित भएका हुन् ।
२०७६ साउन २० गतेदेखि सञ्चालित प्रहरी जवान १३७ औं समूहको २ सय ३४ कार्यदिनको आधारभूत तालिम १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वरबाबु कार्कीको प्रमुख आतिथ्यतामा दीक्षान्त समारोह सम्पन्न भएको हो ।
दीक्षान्त समारोहमा प्रशिक्षार्थीहरुलाई नेपालको संविधान बमोजिम तालिम केन्द्रका समादेशक टेकबहादुर तामाङले सपथ खुवाएका थिए । प्रमुख अतिथी प्रहरी नायव महानिरीक्षक कार्कीले कोभिड–१९ को उत्पन्न परिस्थितिमा सुरक्षाको कारण प्रशिक्षार्थीहरुका अभिभावक, सञ्चारकर्मी तथा अन्य इष्टमित्रलाई समारोहमा आमन्त्रण गर्न नसकिएकोप्रति दुःख लागेको बताउँदै नेपाल प्रहरी मार्फत राष्ट्रको सेवा गर्न प्रहरी संगठन रोजेकोमा दीक्षित प्रहरीका परिवारजनमा आभार प्रकट गरे । साथै उनले कार्यक्षेत्रमा मन, वचन र कर्मले निष्ठापूर्वक, इमान्दार र बफादारी भई उच्च मनोवलका साथ जनताको सेवामा खटिन दिक्षित प्रहरी जवानहरुलाई शुभकामना सहितको निर्देशन दिए ।
सोही कार्यक्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वरबाबु कार्कीले तालिम केन्द्रबाट प्रकाशित प्रहरी जवान स्मारिका २०७७ को विमोचन समेत गरे । तालिम अवधी भर लिईएको चरणगत परीक्षाको प्राप्ताङका आधारमा सर्वप्रथम हुन सफल प्रशिक्षार्थी प्रहरी जवान विजयसिंह कार्की लगायत विभिन्न १० विधामा उत्कृष्ट भएका प्रशिक्षार्थीहरु लगायत तालिममा सहभागी प्रशिक्षकहरुलाई कार्यक्रमका प्रमुख अतिथी प्रहरी नायव महानिरीक्षक कार्कीले प्रमाणपत्र तथा नगद पुरस्कारद्वारा पुरस्कृत गर्नु भयो ।a