काठमाडौंः नेपालमा कोरोना संक्रमित थपिने संख्या क्रमशः घट्दै गएको छ । पछिल्लो पाँच दिनमा कोरोना पुष्टि हुनेको संख्या निरन्तर घटिरहेको र यो खुसीको कुरा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालका ४ जिल्ला तेह्रथुम, भोजपुर, सोलुखुम्बु र हुम्लामा संक्रमितको संख्या न्युन छ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १६ हजार १ सय ६८ पुगेको छ । पछिल्लो २४ घण्टामा २०४ जना नयाँ संक्रमित थपिएसँगै जम्मा संक्रमित १६ हजार १ सय ६८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले बताए ।
पछिल्लो २४ घण्टामा प्रदेश १ मा संक्रमित हुनेमा मोरङमा ६ जना, सुनसरी ३ जना, झापा १ जना रहेका छन् । यस्तै, बाजुरामा ५४, काठमाडौंमा १४, अछाम ११, बैतडीमा ११ जना, ललितपुरमा १०, महोत्तरीमा ९, धनुषा ८, अर्घाखाँचीमा ८ जना, डोटीमा ७ जना, डडेलधुरा ६, नवलपरासी पश्चिम ५, सुर्खेत ५, रुकुमपश्चिम ५, सल्यानमा ५ जना, सप्तरी ४ भक्तपुरमा ४ जना, दाङ ३, मकवानपुर ३, सर्लाहीमा ३ जना रहेका छन् । त्यस्तै तनहुँ २, पाल्पा २, बर्दियामा २ , जना, रामेछाप १, लमजुङ १, गोरखा १, सिन्धुली १, सिन्धुपाल्चोक १, धादिङ १, बाग्लुङ १, कपिलवस्तु १, नुवाकोट १, रुपन्देही १, कास्की १, रुकुम पूर्वमा १, र पर्साका १ जनामा संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार असार १९ गते सात सय ४० जना संक्रमित थपिएकोमा २० गते दुई सय ३२ जना, २१ गते दुई सय ९३ जना, २२ गते एक सय ८० जना र आज दुई सय चार जनामा मात्रै कोरोना भेटिएको छ । यस्तै पछिल्लो पाँच दिनमा आइसोलेशनबाट घर फर्कनेको सङ्ख्या पनि बढिरहेको छ । गएको शुक्रबार देशभरका क्वरेण्टीनमा नौ हजार ८४ जना आइसोलेशनमा रहेकोमा आज आठ हजार ६ सय ३४ जना रहेका छन् ।
यस्तै, चार जिल्ला कोरोनामुक्त भएका छन् । तेह्रथुम, भोजपुर, सोलुखुम्बु र हुम्लामा देखिएका सबै संक्रमित निको भएर घर फर्किएसँगै यी जिल्लामा कोरोना संक्रमित छैनन् । चार जिल्ला कोरोनामुक्त भएपछि ७४ जिल्लामा संक्रमण रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सरकारले स्वास्थ्यकर्मीलगायत जोखिममा परेको समुदायका ४५ हजारको पीसीआर परीक्षणको तयारीसमेत गरेको जनाएको छ । पीसीआर विधिबाट मंगलबार ६ हजार एक सय ३३ जनाको कोरोना परीक्षण भएको छ । हालसम्म दुई लाख ६१ हजार आठ सय ६१ जनाको पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ । देशभरिका विभिन्न अस्पतालमा आठ हजार ६ सय ३४ जना संक्रमित उपचाररत रहेका छन् ।
प्रदेश एकमा हालसम्म ४ सय ९० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।
पछिल्लो २४ घण्टामा विराटनगरको कोशी अस्पताल कोभिड १९ केन्द्रबाट सात र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ११ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।
डिस्चार्ज हुनेमा ६ देखि ५० वर्ष उमेरसम्मका मोरङका ४ र सुनसरीका ३ जना रहेका छन् । उनीहरु गत जेठ २७ देखि असार १३ गतेसम्म केन्द्रमा भर्ना भएका थिए । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान कोभिड १९ अस्पतालबाट ११ जना संक्रमित उपचारपछि घर फर्किएका छन् ।
प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार ७ वर्षका बालकदेखि ५४ वर्ष उमेर समूहका ११ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको थियो। यसक्रममा झापाका ७ जना, सुनसरीका ४ जना रहेका छन् । कोभिड १९ लाई जितेर घर फर्कनेमा ७ महिला र ४ पुरुष रहेको डा. सापकोटाले जानकारी दिए ।