विराटनगरः पानीले साथ दिएपछि प्रदेश १ मा ५२ प्रतिशत रोपाइँ सकिएको छ । प्रदेश १ का १४ जिल्लामध्ये भौगोलिकरूपमा झापा, मोरङ र सुनसरीमा ५६ दशमलव ३ प्रतिशत रोपाइँ भएको छ ।
मध्य पहाडका इलाम, पाँचथर, भोजपुर, तेह्रथुम, धनकुटा, ओखलढुंगा, खोटाङ र उदयपुरका जिल्लामा ४४ दशमलव ६० प्रतिशत रोपाइँ भएको प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता डाक्टर राजेन्द्र उप्रेतीले उच्च पहाडको ताप्लेजुङ, संखुवासभा र सोलुखुम्बुमा भने ३० प्रतिशत रोपाइँ सकिएको छ ।
गएको वर्ष २०७६ असार २४ गतेसम्ममा प्रदेश १ को धान रोपाइँको अवस्था योभन्दा निकै कम थियो । मन्त्रालयका अनुसार गएको वर्ष असार २४ गतेसम्ममा २८ दशमलव १६ प्रतिशत रोपाइँ भएको थियो । यो वर्ष धान रोपाइँ बढ्नुको मुख्य कारणको रुपमा समयमै पर्याप्त वर्षा हुनुलाई विज्ञले लिएका छन् । किसानलाई चाहिने मल र बिउको व्यवस्थापन पनि धान रोपाइँ बढ्नुको कारण भएको मन्त्रालयले जनाएको छ ।