Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

पाथीभरा मन्दिरको पदमार्गमा ट्रष्ट

हाम्रो कोशी आवाज
असार २४ २०७७, बुधबार
पाथीभरा मन्दिरको पदमार्गमा ट्रष्ट

ताप्लेजुङः ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथिभरा मन्दिर मुख्य प्रवेशद्वारबाट मन्दिरसम्म करिब एक सय ७५ मिटर लामो पदमार्गमा ट्रष्ट लगाइएपछि हिउँ र पानीको प्रभाव अन्त्य हुने भएको छ ।
लकडाउनका कारण तीर्थालुको चाप नभएको अवस्थामा पाथीभरा क्षेत्र विकास समितिले पाथीभरा पदमार्गमा ट्रष्ट निर्माण गरेको हो ।
उपभोक्ता समितिमार्फत् बनेका संरचनाको निर्माण कार्य लगभग पूरा भएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले जानकारी दिए । पाथीभरा मन्दिरको मुख्य प्रवेशद्वारबाट शुरु भएको ट्रष्ट मन्दिर प्रवेशको अन्तिम द्वारसम्म पुगेको छ ।
यो संरचना बनेपछि पानी र हिउँका कारण तीर्थालुले विगतमा खेप्दै आएको समस्या हट्ने भएको छ । तीर्थालुको चाप बढी भएको दिन मन्दिर प्रवेशको मुख्य द्वार क्षेत्रबाटै तीर्थालुहरू दर्शनका क्रममा लाइन लाग्ने गर्छन् ।
पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक काफ्लेका अनुसार समितिको समन्वयमा पाथीभरा क्षेत्रमा चालु आर्थिक वर्षमा ट्रष्टसहितका पाँच वटा संरचना निर्माण भएका छन् । मन्दिर प्रवेशद्वार भन्दा उत्तरपश्चिमतर्फ तीर्थालु बस्ने घर बनेको छ । फोहोर व्यवस्थापनमा कठिनाइ भइरहेको अवस्था अन्त्य गर्न उपयुक्त प्रविधिसहितको फोहोर विर्सजन केन्द्र बनाइएको छ ।
हिउँ र पानीको अधिक प्रभावका कारण फोहोरमैलाको उपयुक्त बिर्सजनमा देखिएको समस्या हाल गर्न माथिबाट चिसो फोहोर सुकाउने र तल डढाउन मिल्ने गरीको संरचना बनाइएको छ । ठाडै उकालो पदमार्गका कारण तीर्थालुलाई पदयात्राका क्रममा हुने कठिनाइलाई क्रमशः हल गर्ने उद्देश्यले पाथीभरा क्षेत्रको माथिल्लो फेदीदेखि उभोंका अधिक उकालो भागलाई केही तेर्सो र सहज बनाइएको छ । माथिल्लो फेदीभन्दा केही तल गुराँसे क्षेत्र र सो भन्दा तलका उपभोक्तालाई खानेपानी उपभोग हुन सहज हुनेगरी पानी ट्याङकी बनाइएको छ ।
पाथीभरा क्षेत्रमा जनस्तरबाट गठित पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समितिले विगत लामो समयदेखि भौतिक पूर्वाधार तथा मन्दिर क्षेत्र व्यवस्थापनसहितका कार्य गर्दै आइरहेको छ । पाथीभरा क्षेत्रको भेटी व्यवस्थापनका लागि दुवै समितिका प्रतिनिधित्व हुने गरी जिल्ला समन्वय समितिका प्रमुख घनेन्द्र मादेनको संयोजकत्वमा भेटीपाती व्यवस्थापन समिति रहेको छ । यो समितिको कोष खर्च गरी सडक तथा पदमार्ग व्यवस्थापनसहितका समेत भइरहेका छन् ।

प्रकाशित मिति: असार २४ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend