धरानः धराने युवती र महिलाले मखमलको जुत्ता बनाउने १५ दिने तालिम लिएका छन् । तालिमपश्चात् जुत्ता उत्पादनमा प्रोत्साहन गरिने भएको छ । असार २२ गतेदेखि शुरु भएको १५ दिने तालिममा विभिन्न वडाका २० जना महिलाहरु सहभागी छन् ।
धरान ३ जल्पारोड स्थित नेवार एकता समाजको कार्यालयमा सञ्चालन भएको तालिममा डिप्लोमा हेन्डीक्राफ्टका सञ्चालक पूर्णकला मास्केले प्रशिक्षण दिएकी छिन् । पवित्र बचत तथा ऋण सहकारी संस्था लिमिटेड र नेपाल उद्यमशिल महिला संघ सुनसरीको संयुक्त आयोजनामा तालिम सञ्चालन भएको हो ।
तालिम लिने तर तालिमलाई व्यवहारमा नउतार्ने समस्या देखिएकाले यस तालिम पश्चात् सहभागीसँग नियमित सम्पर्कमा रही उनिहरुलाई जुत्ता उत्पादन कार्यमा प्रोत्साहन गरिने नेपाल उद्यमशील महिला संघ सुनसरीकी अध्यक्ष यशोदा कायस्थले बताइन् ।
१५ दिनमा राम्रो जुत्ता बनाउन सीप सिक्न सक्ने र घरमा नै बसेर जुत्ता तयार गरेर बिक्री–वितरण गर्न सकिने प्रशिक्षक पूर्णकला मास्केले बताइन् । एकजोर जुत्ताको रु २ सय ५० देखि १५ सयसम्म विक्री वितरण हुने र निर्माण सामग्रीको खर्च घटाएर २५ प्रतिशत फाइदा हुने प्रशिक्षक मास्केले बताइन् ।
सहकारीका सदस्य तथा विभिन्न वडामा रहेका केही गर्न चाहानेहरुलाई सहकारीको सामाजिक दायित्व निर्वाह गर्ने क्रममा तालिममा लगानी गरेको सहकारीको अध्यक्ष गंगा श्रेष्ठले बताइन् । विवाह तथा पार्टीमा उपयोग हुने सो मखमलको जुत्ताको माग धरान र आसपासको क्षेत्रमा राम्रो भएको र धरानमा उत्पादन गर्नेहरु पनि एक दुई मात्र भएकाले यसको किसिमको कामको राम्रो अवसर भएको छ ।



