सुनसरीः सुनसरीको बराहक्षेत्र–९ स्थित राजाबासमा पुल बन्ने भएको छ ।
पूर्व–पश्चिम लोकमार्गको विकल्प तथा कोशी ब्यारेजको पुलको समयावधि सकिन लागेपछि वैकल्पिक पुल बनाउने तयारीमा सरकार लागेको छ । तीन किलोमिटर पक्की पुल निर्माणका लागि प्राविधिक कार्य अगाडी बढाइएको छ ।
पूर्व–पश्चिम लोकमार्गको पकली–कञ्चनपुर सडक निर्माण गर्ने क्रममा बराहक्षेत्रको प्रकाशपुर, राजाबासबाट सप्तकोशी नदीमा पुल निर्माणको वातावरण प्रभाव मूल्याङ्कन गर्ने कार्यको थालनी भएको छ ।
सरकारले नेपाल–भारत सीमाक्षेत्र नजिक रहेको कोशी व्यारेजको पुल जीर्ण बन्दै गएकोले आफ्नै लगानीमा सप्तकोशीमा नयाँ पुल निमार्ण गरी वैकल्पीक लोकमार्ग बनाउने तयारी थालेको हो । सडक विभागले पुल महाशाखाले पुल बनाउनेदेखि अन्य निर्माणको विषयमा वातावरण सम्बन्धी राय माग्न सूचना जारी गरेपछि प्राविधिक टोलीले वातावरण प्रभाव मूल्याङन कार्य शुरू गरेको हो । सडक विभागले प्रकाशित गरेको सूचनामा एडिबीको सहयोगमा पकली–भासी–राजाबासदेखि कञ्चनपुरसम्म ६ लेनको सडक बनाउने योजनाको साथ प्रभाव मूल्याङ्कन शुरू गरेको जनाइएको छ ।
वर्षायाममा जुन पुलले गर्दा स्थानिय त्रसित हुन्छन । पुलको सम्पूर्ण रेखदेखको जिम्मा भारतको भएको र बाढी आउँदा भारत डुबानमा हुन्छ भन्ने डरले नेपालका भूभाग डुबान समेत हुने गरेको छ । सप्तकोसी नदीमा बनेको ब्यारेजको आयु ६० वर्ष पुगिसकेको छ । सोअन्तर्गत बनेको नयाँ पुलले अहिलेको कोशी ब्यारेजजस्तै प्रदेश १ को सुनसरी र प्रदेश २ को सप्तरीलाई जोड्नेछ । सडक निर्माणका लागि व्यक्तिको जग्गा अधिग्रहण गर्नुपर्ने भएको र अधिग्रहण गर्ने काम भइरहेको बराहक्षेत्र–९ का वडाध्यक्ष दीपककुमार लिम्बु बताउँछन् ।
यो मार्ग बनेपछि पूर्व–पश्चिम राजमार्ग केही छोटिनेछ भने राजमार्गमा भविश्यमा आउनसक्ने खतरा टर्नेछ । त्यस क्षेत्रका स्थानीयबासीले यही सडकलाई राष्ट्रिय राजमार्ग घोषणा गर्नुपर्ने माग गरिरहेका छन् ।
२०६५ सालमा सप्तकोशी नदीमा आएको बाढीले राजमार्गको विभिन्न खण्डमा क्षति पु¥याएको थियो । बाँध भत्किएर सुनसरी क्षेत्रका धेरै घरखेत बगाएको थियो । त्यही बेला प्रचण्ड नेतृत्वको सरकारले वैकल्पिक सडक बनाउने निर्णय गरेको थियो । कोशी ब्यारेजमा ५६ वटा ढोका छन् । तर, ढोका खुला गर्ने अधिकार भारतसँग रहेका कारण बाढीले नेपाली क्षेत्र वर्षेनी डुबानमा पर्दै आएको छ ।