धरानः नेपालमा मोबाइल प्रयोगकर्ताको संख्या ४ करोड नाघेको छ । आर्थिक वर्ष २०७६–७७ को आर्थिक सर्वेक्षणअनुसार फागुन महिनासम्म कुल मोबाइल प्रयोगकर्ताको संख्या ४ करोड ७ लाख ९३ हजार १०२ पुगेको छ ।
योसंख्या अघिल्लो आवमा ४ करोड ५ लाख ९६ हजार २५९ थियो । त्यस्तै, कुल जनसंख्यामा ७५ प्रतिशतमा इन्टरनेटको पुहँच विस्तार भएको छ । भने नेपाल दूरसञ्चार कम्पनीका ग्राहक ४८.९ प्रतिशत छन् । त्यस्तै, एनसेलका ग्राहक ३२.८ प्रतिशत बाँकी इन्टरनेट सेवा प्रदायकहरुको हिस्सा १८.३ प्रतिशत छ ।
देशमा झण्डै तीन महिना लकडाउन हुँदा इन्टरनेटको शतप्रतिशत प्रयोग टिकटक, अनलाइन गेमिङ र नेटफिलिक्सबाट फिल्म हेर्नमा सदुपयोग गरेको पाइएको छ । प्रविधि पत्रकार मञ्च नेपाल (टीजेएफ)ले गरेको नेपालमा इन्टरनेट विषयक वेबिनारमा बोल्दै नेपाल नेटवर्क अपरेटर ग्रुप (एनपीएनओजी)का अध्यक्ष समित जंग थिंगले लकडाउनमा इन्टरनेटको प्रयोग शतप्रतिशत टिकटक, अनलाइन गेमिङ र फिल्म हेर्नमा बढी भएको बताए ।
उनले भने, ‘नेपालमा प्रयोग हुने इन्टरनेटमध्ये लकडाउनअगाडि टिकटक प्रयोगमा ७ जीबीपीएस प्रयोग हुन्थ्यो । तर लकडाउन सुरु भएपछि टिकटक प्रयोगमा १३ जीबीपीएसले प्रयोग भएको छ ।’
उनका अनुसार लकडाउनमा अनलाइन गेम खेल्नेहरु पनि बढेको बताए । उनले भने, ‘ लकडाउन अगाडि ३ जीबीपीएस थियो भने लकडाउन भएपछि ७ जीबीपीएसले इन्टरनेट प्रयोग भएको देखिन्छ ।’
यस्तै वेबिनारमा बोल्दै नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक विजयकुमार रोयले लकडाउनको समयमा इन्टरनेटको प्रयोग बिहान र साँझ बढेको बताए । उनका अनुसार लकडाउन १० दिन पहिले र दश दिनपछि इन्टरनेटको प्रयोग ३६ प्रतिशतसम्म वृद्धि भएको थियो । उनले भने, ‘त्यही कारण लकडाउनको अवधिमा इन्टरनेट सेवा प्रदायक (आइएसपी)हरुले ५० गिगावाइट पर सेकेन्ड(जीबीपीएस) वृद्धि गरेका थिए ।’
उनका अनुसार नेपालमा १६ वटा नेटवर्क सेवा प्रदायकले बाहिरबाट ब्यान्डविथ ल्याउन अनुमति पत्र लिएका छन् भने बाहिरबाट आएको ब्यान्डविथमध्ये ९० प्रतिशत फिक्स इन्टरनेटको प्रयोग हुन्छ भने मोबाइलबाट ११ प्रतिशत र फिक्स्ड वायरबाट ८९ प्रतिशत प्रयोग कर्ता रहेका छन् । तीमध्ये गुगलले ५१ प्रतिशत, फेसबुकले ३१ प्रतिशत, अकमाइले ४ प्रतिशत, आइएसपीले २ प्रतिशत, टिकटकले २ प्रतिशत, नेटफ्लिक्सले १ प्रतिशत र अन्यमा ८ प्रतिशत गरी जम्मा १.६ टेराबाइट पर सेकेण्ड इन्टरनेट खपत भएको देखिन्छ ।
लकडाउनमा मोबाइलमा समाचार हेर्ने बढे
लकडाउनमा समाचारका लागि अखबारभन्दा मोबाइल डिभाइसमा भर पर्न थालेका छन् । लकडाउनले पत्रपत्रिका ननिस्कनुले पनि मोबाइलमा समाचार हेर्ने बढेका हुन् ।
अखबारी पत्रकारिताबाट युवा पुस्तालाई डिजिटल र मोबाइल प्रविधिले आफूतिर तानिरहेको छ । डिजिटल समाचारका पाठक र दर्शक बढेको भएपनि अझै उनीहरुले अनलाइनमा पढेका समाचारमा विश्वस्त हुनेक्रम भने यसको विस्तार जत्तिकै तीब्र छैन । अमेरिकी संस्थाले गरेको सर्वेक्षणमा ४ प्रतिशत वयस्कले मात्र अनलाइनमा आएका सामग्रीलाई पूर्णरूपमा पत्याउने गरेको बताएका छन् ।
सार्वजनिक गरिएको ‘विश्व सूचना प्रविधि प्रतिवेदन २०१६’ ले विश्वका एकसय ३९ मुलुकमध्ये सूचना प्रविधिको समग्र विकासको सूचकमा नेपाल एकसय १८ औं स्थानमा रहेको देखाएको छ । नेपाल सन् २०२२ सम्म विकासशील मुलुकको सूचीमा पार्ने सरकारको योजना रहेको छ । त्यसमा सूचना प्रविधिले सहयोग गरेको वल्र्ड इकोनोमिक फोरमले जनाएको छ ।