बिर्तामोडः झापाको झापा गाउँपालिकास्थित बिरिङ खोलामा आएको बाढीले बगाएर एक जनाको मृत्यु भएको छ। भद्रपुरमा बाढीले बगाउँदा अर्का एकजना बेपत्ता भएका छन्।
झापा गाउँपालिका-५ का ३५ वर्षीय राजेश गणेशको बिरिङ खोलाले बगाएर मृत्यु भएको रेडक्रस झापा शाखाका सभापति लोकराज ढकालले जानकारी दिए। बिरिङ खोलामा नुहाउँदै गर्दा खोलाले बगाएर बेपत्ता भएकामा उनलाई शनिबार साँझ स्थानीयवासीले मृतावस्थामा फेला पारेका हुन्।
त्यसैगरी भद्रपुर नगरपालिका ३ का ३३ वर्षीय हिरण राई मेची नदीमा बेपत्ता भएका छन्। प्रहरीका अनुसार उनी नुहाउन नदीमा पस्दा बगेर बेपत्ता भएको देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले खोजी तथा उद्धारका लागि टोली परिचालन गरे पनि बेपत्ता राई फेला परेका छैनन्।
यसैबीच कनकाई नदीमा आएको बाढीका कारण शिवसताक्षी–१० सुकुम्बासी बस्तीका चार परिवार र गौरीगञ्ज–१ को एक परिवार विस्थापित भएका छन्। त्यस्तै, शिवसताक्षी–१० का १५ परिवार र गौरीगञ्ज–१ का १२ गरी २७ परिवार उच्च जोखिममा रहेको रेडक्रस झापाले जनाएको छ।