धरानः ताप्लेजुङ र तेह्रथुम जिल्लाका २ स्थानमा तमोर नदीले बगाएर ३ जना बेपत्ता भएका छन् ।
घरबाट टिपटालातर्फ जाँदै गरेका ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका–६ का ५७ वर्षीय कालुमान तक्मादेन लिम्बूलाई स्थानीय सिजनेमा खोलाले बगाएर नजिकै रहेको तमोर नदीमा पुरयाइ बेपत्ता भएको तथा बेपत्ता भएका लिम्बूको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
यसैगरी सोमबार दिउँसो ३ बजे साथीहरुसँगै तमोर नदीमा पौडी खेल्न गएका तेह्रथुम आठराई गाउँपालिका–५ होडाका १५ वर्षीय सन्तोष तामाङ र १८ वर्षीय रन्जित शेर्पालाई पनि तमोर नदीले बगाउँदा बेपत्ता भएका छन् ।
पौडी खेल्न गएका उनीहरूलाई अचानक नदीले बगाएको भनी अन्य साथीहरुले होहल्ला गरेपछि स्थानीयवासीहरुले खोजतलास गर्दा फेला नपरेको भनी इलाका प्रहरी आठराईमा जानकारी गराएसगै प्रहरी टोली समेत खटी गई खोजतलास भइरहेको सो कार्यालयले जनाएको छ ।
यस्तै, सुनसरी बराहक्षेत्र नपा ६ बोराबान कोशी किनारा स्थित दाउरा खोज्ने क्रममा ऐ. ७ देवीघाट बस्ने गौवा बस्नेत को छोरा वर्ष १२ को अनिल बस्नेत कोशी नदीले बगाइ बेपत्ता बनाएको छ । इप्रका महेन्द्रनगरका प्रनि पाण्डवकुमार राजवंशी को कमाण्डमा टोली खटिएको टोलीले खोजी कार्य जारी राखेको छ । यस्तै, भद्रपुर नपा ३ नाउगाटस्थित मेची खोलामा नुहाउने क्रममा सो खोलाले हिरण राईलाई बेपत्ता बनाएको छ ।
उता संखुवासभाको सिलिचोङ गाउँपालिकाको सिसुवाखोलामा ८ घर पहिरोले बगाएको छ । पहिरोमा परी ११ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेहरुमा राममान कुलुङ, हस्ती कुमारी कुलुङ, नम्रता कुलुङ, एन्जिला कुलुङ, बिनिला कुलुङ, गोरिमाया कुलुङ, उत्तर कुमारी कुलुङ, जुद्द बहादुर (माने) कुलुङ, धन्संकर (मलमराइ), आइतजिन (मारिम) कुलुङ, र नजमाया कुलुङ रहेका छन् ।
सिसुवाटार प्रहरी चौकीका प्रहरीहरु घटनास्थल पुगिसकेको छ । उनीहरु घटनास्थल पुगेर वपत्ताहरुको खोजी सुरु गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मध्यरातमा पहिरो आएको हो । सबै सुतेको हुनाले पहिरो खस्दा ११ जना बेपत्ता छन् ।