बिर्तामोडः भारतीय नक्कली नोटको कारोबार गर्ने गिरोह सक्रिय रहेको तथ्य खुलेको छ ।
झापामा नक्कली भारतीय रुपैयाँको कारोबार गर्ने गिरोह पक्राउ परेसँगै अहिले पनि नक्कली नोटको कारोबार गर्ने गिरोह सक्रिय रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय अनारमनीको प्रहरीको विशेष टोलीले एक लाख ४४ हजार नक्कली भारतीय रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको हो ।
उनीहरुलाई शनिबार राति कनकाई नगरपालिकाबाट प्रहरीले पक्राउ गरेको र आइतबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा कनकाई नगरपालिका–३, सुरुङ्गाका सुन व्यवसायी ४३ बर्षीय मौसम श्रेष्ठ, कनकाई नगरपालिका ४ का २९ वर्षीय खुर्सैद आलम र झापा गाउँपालिका ५ निवासी २४ वर्षीय एराजुल हक रहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए ।