संखुवासभाः संखुवासभामा पहिरोमा परी हराएका ११ जना अझै भेटिएनन् ।
उद्धार र राहतको लागि खराब मौसमका कारण मङ्गलबार पनि हेलिकोप्टर जान सकेको छैन ।
पहिरो जान नरोकिएको कारण ७३ घरका ३ सय २८ जनालाई सुरक्षित स्थानमा सारिएको छ । लगातारको झरीसँगै पहिरो खस्दा सिलिचोङ गाउँपालिका–१ मा शनिबार राति करिब १ बजे पहिरो गएको थियो ।
घटनामा ११ जना बेपत्ता भएका छन् भने ४ जनाको स्थानीयले जीवितै उद्धार गरिएको थियो । भिरालो पाखामा रहेको बेसिन्दा गाउँमा ८६ परिवारको बसोबास थियो ।
करिब सय मिटर माथिबाट घरमै खसेको पहिरोमा परी उनीहरू बेपत्ता भएका हुन् । संखुवासभाका डीएसपी नवराज मल्लका अनुसार पहिरोमा परेर ६० वर्षीय राममान राई, उनकी ५५ वर्षीया पत्नी हस्तकुमारी, छोरीहरू २१ वर्षीया एन्जिला र ११ वर्षीया नम्रता राई हराइरहेका छन् । एन्जिला गर्भवती थिइन् । ५२ वर्षीय जुद्धबहादुर माने (राई) र श्रीमती ४५ वर्षीया उत्तरकुमारी, ७० वर्षीया नजमाया, ८४ वर्षीय हर्कराज र ८२ वर्षीया आइतमाया राई पनि बेपत्ता छन् ।