Hamro Koshi Aawaj

शुक्रबार, असोज २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अन्ततः धरानको मुख्य बजार चार लेनकै बन्ने

हाम्रो कोशी आवाज
असार ३१ २०७७, बुधबार
अन्ततः धरानको मुख्य बजार चार लेनकै बन्ने

धरानः अन्ततः धरानको मुख्य बजार क्षेत्र ४ लेनको हुने नै भएको छ ।
धरान उपमहानगरपालिकाले आव ०७७–७८ को नीति तथा कार्यक्रममा चार लेनको बनाइने जनाइएको थियो तर नगर सभाले नै ४ लेनको नीतिगत निर्णय नै गरेको छ ।
सातौं नगरसभाले आगामी आर्थिक वर्ष २०७७–०७८ को नीति तथा कार्यक्रम र बजेट पारित पनि गरेको छ । यसै क्रममा कोशी लोकमार्गको धरानको मुख्य बजार क्षेत्रमा ८० फुटको बनाउने प्रस्ताव पारित भएको छ ।
यसअघि नगरसभामा प्रस्तुत भएको नीति तथा कार्यक्रममा तीनकुनेदेखि शिवधारासम्मको सडकलाइ सहरी सडक बनाउने घोषणा गरिएको छ । जस अन्तर्गत तीनकुनेदेखि शिवधारासम्म ८० फुटको मापदण्ड कायम गरिने जनाइएको थियो ।
धरान–९ का वडाध्यक्ष रत्न कटुवालले यस विषयमा नीतिगत निर्णय नै भएको बताए । सभामा नगरसभाले विनियोजन विधेयक, आर्थिक विधेयक, वातावरण तथा प्राकृतिक स्रोत संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र राजश्व परिचालन विधेयक २०७७ पनि सर्वसम्मतले पारित गरेको उनले जानकारी दिए ।
धरानको मुख्य सडकबाट कि बाइबासबाट सडक जाने भन्ने विषयले लामो समय बजार तातिएको थियो । धरानको मुख्य सडकबाट विस्तार हुँदा मुख्य बजार नै नरहने भएपछि धरानमा सर्वाधिक चर्चा र चासोको विषय बनेको थियो । चीनसम्म जोड्ने जोगबनी किमाथाङ्कासम्मको ६ लेनको बाटो विस्तारको योजना बनेपछि विवाद बढेको थियो ।
धरान ८ तीनकुनेदेखि सिधै शिवधारा निकाल्ने विषयमा यी क्षेत्रमा रहेका घरधनी, व्यापारी व्यवसायीले विरोध गर्दै आएका थिए । विरोधपश्चात् सेउती खोला छेउबाट बाइपास सडक निर्माण गर्ने राष्ट्रिय योजना आयोगले योजनामै पारी सर्भे समेत गरेको थियो । त्यतिबेला पनि विवाद भएको थियो । वाइपास सडकको डिपिआर तयार गर्न सर्वे नहुँदै विरोध शुरु भएपछि वाइपास सडकबाट प्रभावित सेउती करिडोरका सुकुम्बासीहरूले पनि आफूहरूको उठिबास हुने भन्दै विरोध गरेका थिए ।
कोशी राजमार्गलाई मापदण्डअनुसार विस्तार गर्दा धरानको भानुचोकदेखि छाताचोकबीचको मुख्य बजारको अस्तित्व नै नरहने भएपछि धरान उपमहानगरपालिकाले राष्ट्रिय योजना आयोगमा वाइपास सडकको प्रस्ताव पेश गरेको थियो ।

फोटोः विकास वनेपालीको फेसबुक वालबाट

प्रकाशित मिति: असार ३१ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend