धरानः पर्यटकको लागि सिजननै यही हो । सधैं व्यस्त, मस्त रहने भेडेटार अहिले सुकेको अवस्थामा छ । अहिले धेरैले भन्न थालेका छन्–के भेडेटार तङ्ग्रीएला ? सबैको सहज उत्तर हुन्छ– सहज भए तङ्ग्रीन्छ ।
‘यतिका दिनको लकडाउन, बैंकको किस्ता, घरभाडा र बाँच्ने अवस्था नभएपछि हल्का खोल्न थालियो है’, होटल एशोसिएसन अफ भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दाली भन्छन्, ‘अब विस्तारै–विस्तारै भेडेटार तङ्ग्रीने कोसिस गरिरहेको छ ।’
यसअघि बिहान, दिउँसो, बेलुका घुम्न आउने पर्यटकको घुइँचो थाम्न नसक्ने अवस्थाको भेडेटारमा अहिले आन्तरिक र बाह्य पर्यटक आउँदैनन् । अझ लकडाउन अवधिभर त सुनसान बन्यो र व्यवसाय चौपट पनि । ‘अब के गरेर बाँच्ने भन्ने अवस्था सिर्जना भएपछि होटल व्यवसायीको सरसल्लाहअनुसार व्यवसाय शुरूवात गर्न थालेका छौं ।’ उनले थपे, ‘व्यवसायीले होटल खोल्न थालेपछि दुई चारजना पर्यटक आउन पनि थालेका छन्, सामाजिक दुरी कायम गर्दै होटल सञ्चालनमा ल्याइएको छ, आशा छ भेडेटार तङ्ग्रीन्छ ।’
पूर्वको पर्यटकीयस्थलको रुपमा चर्चित भेडेटार होटल र पर्यटन व्यवसाय चौपट बनेको व्यवसायी बताउँछन् । ‘भेडेटारका ६० भन्दा बढी होटल र पर्यटन व्यवसायमा गरिएको लगानीको अवस्था नाजुक छ’, अध्यक्ष रुम्दाली भन्छन्, ‘सरकारले अब केही नयाँ विकल्प दिनुपर्छ भनेर हामीले भन्दै आएका छौं ।’
कोरोना महामारीको बीचमा होटल र पर्यटन व्यवसायलाई तङ्ग्रायाउन भनेर सरोकारवाला, स्थानीय प्रशासन, जनप्रतिनिधि, साँगुरीगढी गाउँपालिकाका पदाधिकारीहरूसँग छलफल भइसकेपछि होटल सञ्चालनमा ल्याइएको उनले बताए ।
एशोसिएसनका पूर्वअध्यक्ष लीलाराज लावतीले भन्छन्, ‘व्यवसायी, पर्यटक सबैलाई सुरक्षित राख्दै व्यवसाय सञ्चालनमा ल्याउनुको विकल्प नभएकोले शुरूवात गरेका हौं ।’ पर्यटकको चापाचाप हुने भेडेटारमा यस वर्ष कसरी ऋण तिर्ने समस्या हुन थालेको उनको गुनासो छ । ‘पर्यटककै पर्खाइमा बाह्रैमास खुल्ने होटल, होमस्टे व्यवसायीलाई ठूलै आर्थिक समस्या आइलागेको छ’, उनी भन्छन्, ‘भन्नु पो नभएको त बैंकको रेकर्ड नै देखाइहाल्छ नि ।’

