Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको व्यापार-व्यवसाय लयमा फर्किँदै

हाम्रो कोशी आवाज
साउन २ २०७७, शुक्रबार
धरानको व्यापार-व्यवसाय लयमा फर्किँदै

धरानः बन्दाबन्दीको समय, भर्खरै लकडाउन खुकुलो भएपनि धरानमा दुई पाङ्ग्रे अर्थात् मोटरसाइकल बिक्री बढेको छ ।
सरकारले लकडाउन खुकुलो पारेसँगै स्कुटी तथा मोटरसाइकलको बिक्री ह्वात्तै बढेको हो । विभिन्न ब्राण्डका स्कुटर तथा मोटरसाइकलका आधिकारिक बिक्रेताले आक्रामक रणनीति तयार पारी बिक्री बढाएका हुन् ।
धरानस्थित अर्विन एण्ड बजाज शोरुका सञ्चालक अर्विन तामाङले लकडाउन लुजडाउन भएपछि ३५ वटा विभिन्न सिसीका मोटरसाइकल बिक्री भएको बताए । उनले यो समयमा १५० सिसीको पल्सर मोटरसाइकल बढी बिक्री भएको जानकारी दिए । ‘अन्य महिनाको तुलनामा यो महिना फलदायी बन्यो’, उनले भने, ‘यो समय भनेको धेरैले किस्ता तिर्न समस्या हुने, महिनाको क्लोजिङ समय हो तर पनि मोटरसाइकल बिक्री घटेन’, उनले भने ।
लकडाउनका कारण साढे ३ महिना ठप्प भएको व्यवसायलाई लयमा फर्काउन बिक्रेताहरूले विभिन्न अफर ल्याएका छन् । यसअघि दशैंको समयमा पाइनेभन्दा विशेष खालका अफर पाएपछि सर्वसाधरणले पनि धमाधम स्कुटी र मोटरसाइकल किनिरहेका छन् । यसबाहेक कोरोना संक्रमणबाट जोगिन सामाजिक दूरी कायम गर्नुपर्ने भएकाले पनि सर्वसाधारणले सार्वजनिक सवारीको साटो निजी सवारी नै रोजिरहेका छन् ।
धरानस्थित नवदुर्गा अटो प्यालेसका सञ्चालक दुर्गा भुजेलले लकडाउन खुकुलो भएपछि टिभिएसका स्कुटी र मोटरसाइकल गरेर १३ वटा बिक्री गरेको खुलाए । ‘यो केही कमचाहिँ हो तरपनि कोरोना कहरका कारण मानिससँग पैसा छैन तर पनि यतिको संख्यामा किनेकै हुन् ।’ उनले भने ।
यामाहा शोरुमका प्रभाव खतिवडाले यामाहा ब्राण्डका ७० वटा मोटरसाइकल र स्कुटी बिक्री गरेको बताए । ‘कोरोना महामारी, सामाजिक दुरीलगायतका नियम बनेको कारण दुई पाङ्ग्रेमा सर्वसाधारणको आँखा गएको हुनसक्छ’, उनी भन्छन् ।
बजारमा चहलपहल बढ्न थालेपनि तत्काल सार्वजनिक यातायात सञ्चालन हुने अवस्था देखिएको छैन भने सञ्चालन भएकै अवस्थामा पनि कोरोना भाइरसको संक्रमण हुने त्रासका कारण सार्वजनिक यातायातको प्रयोग कमै हुने अवस्था देखिन्छ । अतः निजी सवारीसाधन नै उपयुक्त विकल्प बन्ने अनुमान व्यवसायीको छ ।
‘काम गर्नुपर्ने र सुरक्षित हुनुपर्ने नै छ मानिसहरुलाई । यो अवस्थामा दुईपाङ्ग्रेको थप बिक्री बढ्ने अनुमान गरेका छौं ।’ सञ्चालक तामाङ भन्छन् ।
व्यवसायीले पनि लकडाउन खुकुलो भएसँगै विभिन्न स्किम, उपहार योजना र फाइनान्सको सुविधाका योजना ल्याएर उपभोक्तालाई प्रोत्साहन गर्न थालेका छन् । मोटरसाइकल कम्पनीहरू बजाज, टिभिएस, यामाहा, सुजुकी, होन्डा, हिरोलगायतले छुटको आकर्षक योजना सार्वजनिक गरिरहेका छन् ।
‘स्कुटर र सस्तो सेगमेन्टका मोटरसाइकलको माग बढी छ,’ उनले भने, ‘अधिकांशको चासो फाइनान्समा रहेको पाएका छौं । यसले केही समस्या ल्याउन सक्छ । यद्यपि बजार चलायमान हुने अपेक्षा गरेका छौं ।’ खतिवडा भन्छन् ।
फोटोः हाम्रो कोशी आवाज

प्रकाशित मिति: साउन २ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend