सुनसरीः विश्व नै कारोना भाइरस (कोभिड १९) को महामारीमा रहेको बेला सुनसरीमा सुरक्षाकर्मीको मिलेमतोमा तस्कारी फस्टाएको छ ।
देशभर कोरोना रोकथाम तथा नियन्त्रणका लागि बन्दाबन्दी गरिएको बेला सुनसरीमा सुरक्षाकर्मीको मिलेमतोमा तस्करी फस्टाएको हो । सीमामा अहिले सीमाको सुरक्षामा खटिएका सुरक्षाकर्मी नै तस्करीलाई संरक्षण गर्ने काममा लागेकाले सीमा तस्कारी हुने काम रोकिएको छैन । प्रायःजसो सुनसरीको दक्षिणवर्ती क्षेत्रमा दैनिक प्रहरीकै मिलोमितोमा तस्करी हुने गरेको छ ।
प्रहरी तस्करहरुसँग लकडाउनको क्रममा दैनिकी नजराना उठाएर किराना सरसमान, लत्ताकपडा, हार्डवेयर, मेसनरी, मरिच, मोटर, इलेची, सरसामानहरू भारतवाट नेपाल भित्रयाउने गरिएको एक तस्करको ज्यालादारीमा काम गर्ने व्यक्ति रहमुद मियाँ खेपाले बताए । हाल कोरोना कोभिड १९ बाट बच्न नेपाल सरकारले सीमा सिल र सुरक्षाकर्मीको पाँच सय मिटरको दुरीमा चेकपोष्ट राखेपनि हाल तस्करको लाइन प्रहरीले नै मिलाइ नेपाल– भारत सीमा वारपार गर्ने गरिएको स्थानीयबासीले बताएका छन् ।
सीमाबाट विभिन्न सरसमानहरु अवैधरूपमा ओसारपोसार गराउने गरिएको सीमाबासीहरुले बताएका छन् । सीमामा नागरिकलाई रोक लगाएपनि तस्करलाई कुनै रोकटोक नभएको खेपाको भनाइ छ । सुनसरीको विभिन्न स्थानको दशगजामा प्रहरीहरूले सुरक्षाको नाममा देशको राजश्व चुहावट गराउने गरी तस्करी गराउने गरेको पाइएको छ । सुरक्षाकर्मीहरू नेपाल सरकारबाट पाउने मासिक तलब भत्ताको रकम पाएपनि थप अवैधधन्दा चलाएको स्थानीयको आरोप छ ।
नेपाल प्रहरी वसन्तपुर सिसुवा चौकीका इन्चार्ज गणेश यादव तस्करहरूलाई लाइन मिलाएर असुली गर्ने गरेको आरोप स्थानीयले लगाएका छन् । ‘उनी घुमीफिरी रुम्जाटार भन्ने पारामा सीमामै घुमिरहेका हुन्छन्’, स्थानीय भन्छन्, ‘त्यही कारण पनि त्यहाँ तस्करलाई फाइदा मिलिरहेको छ ।’
मासिक नजराना उठाउने गरेकोमा हाल लकडाउनका क्रममा तस्करहरुसँग प्रहरीले दैनिकी नै नजराना उठाउने गरेएको मियाँले खुलासा गरेका छन् । सुनसरीको वसन्तपुर वस्मतीया जोड्ने नाका तस्करको मुख्य नाकाको रुपमा प्रस्तुत भएको समेत बताएका छन् । १० दिन अगाडी तस्करकै विषय लिएर वस्नतपुर सिसुवा चौकी इन्चार्ज रामपुकार चौधरीलाई जिल्ला तानिएका थिए र सो स्थानमा इन्चार्ज बनेर हाल यादव इन्चार्ज सम्हाल्नेबित्तिकै तस्करलाई लाइन दिने गरेको स्थानीयको आरोप छ ।
यादव हाल प्रहरी चौकी सिसुवा वसन्तपुर भन्दा पहिला गौतमपुर र भुटाहा बसेकोले सजिलैसँग तस्करहरुको मिलोमितो भएको स्थानीयबासी बताउँछन् । हाल वसन्तपुर वस्मतीया बोर्डर नाकाबाट प्रहरीले बिहान दुई बजेदेखि ६ बजेसम्म लाइन मिलाएर लत्ताकपडा, रजनिगन्धा, मेसनरी सरसमान, हाडवेयरसरसमान, किराना सरसमान, इलेक्ट्रोनिक सरसमान, गाइगोरु, रक्सी, डिजल, प्रटोल, मरिच, सुपारी, इलेची, कुखुरा लगायतका सरसमानहरु नेपाल भारत ओसारपोसार गराउने गरिएको छ ।
प्रतिक्रिया लिन सम्पर्क गर्दा असई यादवले अफिसमै आए यसबारेमा ‘डिटेल’ दिइने बताए । ‘तपाईहरू किन त्यहाँ बसेर कुरा गर्नुहुन्छ, सबै कुरा बुझ्न परे मेरो अफिसमै आउनुपर्छ ।’ उनले फोन सम्पर्कमा भने ।