फोटोः अध्यक्ष रोहित
केराबारीः मोरङको केराबारी गाउँपालिकाका अध्यक्ष ४० वर्षीय रोहित कार्कीलाई कुटपिट गर्ने साथै हतियार प्रहार गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बिहान साढे ११ बजेको समयमा गाउँपालिकाको कार्यालयमा ठेक्का पट्टाको विषयलाई लिएर अध्यक्षलाई कुटपिट गर्ने केराबारी गाउँपालिका–१० का ३२ वर्षीय भवन ठकुरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
ठकुरीको साथबाट १ थान चक्कु र १ थान खुकुरी समेत बरामद भएको छ । कुटपिटबाट घाइते भएका अध्यक्ष कार्कीको नोवेल अस्पताल विराटनगरमा उपचार भइरहेको तथा घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।
पटके कर ठेक्काको विषयमा केराबारी गाउँपालिकाका अध्यक्षलाई कार्यकक्षभित्रै हतियार प्रहार भएको छ ।
हतियार प्रहारबाट अध्यक्ष रोहितबहादुर कार्की गम्भीर घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको छ । ठकुरीले आफूसँगै भएको चक्कुले शुरुमा आक्रमण गरेका थिए । त्यसपछि, अध्यक्षकै गार्डको साथमा भएको कुखुरी पनि खोसेर आक्रमणको प्रयास गरेका थिए ।