ताप्लेजुङः कोभिड–१९ काणले लामो समयसम्म विद्यालय बन्द भएपनि सरकारले कुनै ठोस निर्णय लिन नसकेको भन्दै प्याब्सनले फुङलिङ नगरपालिकालाई ध्यानाकर्षण गराएका छन् ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सनले) ताप्लेजुङको फुङलिङ नगरपालिकाको कार्यालयमा शुक्रबार ध्यानाकर्षण पत्र बुझाएको हो ।
नेपाल सरकारका विभिन्न निकायहरु समक्ष पटकपटक गरिएको आग्रहका बाबजुद कुनै ठोस निष्कर्षमा पुग्न नसक्दा विद्यालयका आफ्ना गतिविधि सञ्चालन गर्न आर्थिक तथा नैतिक दृष्टिकोणले दिन दिनै अप्ठ्यारो पर्दै गएको कारणले हाल सञ्चालन हुँदै आएको वैकल्पिक विधिहरु अर्को सूचना प्राप्त नभएसम्म बन्द रहने प्याब्सनको केन्द्रीय निर्देशन भएकोले ताप्लेजुङ जिल्लामा सञ्चालित निजी विद्यालयहरुका सबै गतिविधिहरु बन्द हुने ताप्लेजुङका प्याब्सनका सचिव देवराज गुरुङले बताए ।
प्याब्सनले फुङलिङ नगरपालिकासँग ६ बँुदे माग समेत गरेका छन् । प्याब्सनले पठनपाठन सुचारु गर्नका लागि नयाँ विद्यार्थी भर्ना अध्ययनरत विद्यार्थीको अभिलेखिकरण गरी पाठ्यपस्तक लगायत शिक्षण सामाग्रीहरु व्यवस्थापन गर्ने वातावरण यथाशिघ्र निर्माण गर्न फुङलिङ नगरपालिकासँग अनुरोध गरेको छ ।
आवश्यक पूर्वाधार व्यवस्थापनसहित जोर विजोर साथै आलोपालो प्रणालीमा कक्षा सञ्चालन गर्नको लागि वातावरण मिलाउन, सार्वजनिक विदाहरु कटौती गरी नयाँ शैक्षिक क्यालेण्डर प्रकाशन गर्न, विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुलाई तलब भत्ता लगायत अन्य खर्चको व्यवस्थापन गर्न नेपाल सरकारले आवश्यक सहयोग गर्न समेत फुङलिङ नगरपालिका मार्फत अनुरोध गरिएको ताप्लेजुङ प्याब्सनका अध्यक्ष दिनेश भट्टराईले जानकारी दिए । घर जग्गा बहाल कर, व्यवस्थापन कर लगायत अन्य महसुलहरुमा छुटको व्यवस्था गर्न समेत अनुरोध गरिएको भट्टराईले जानकारी दिए ।