धरानः प्रदेश १ मा पनि लाहुरे अर्थात गोर्खा सैनिकले किन भत्ता नपाउने भनेर प्रश्न उठेको छ ।
सरकारले बेलायती र भारतीय सेनाबाट अवकाश भई पेन्सन लिइरहेकाहरूलाई वृद्धभत्ता नदिने निर्णय गरेको भन्दै भुतपूर्व सैनिक संघ गेसोले विरोध गरिरहँदा प्रदेश १ मा पनि कुरा उठेको हो । प्रदेश १ को प्रदेशसभामा बोल्दै सांसद्ले निर्णयले लाहुरेको अपमान भएको जनाए ।
प्रदेशसभाका सदस्य कृष्णकुमारी राईले लाहुरेको अपमान गर्न नहुने बताइन् । शुक्रबार प्रदेशसभाको बैठकको शुन्य समयमा बोल्दै प्रदेशसभा सदस्य राईले सरकारले नागरिकमाथि विभेद गर्न नहुने समेत बताइन् ।
यसअघि गोर्खा सैनिकले भत्ता नपाउने भएपछि निर्णय सच्याउने गेसोले माग गरिसकेको छ । नेपाल सरकारले विदेशी सरकारबाट नियमित निवृत्तिभरण पाइरहेका नेपाली नागरिकलाई सामाजिक सुरक्षा भत्ता नदिने निर्णय गरेपछि गोरखा भुतपुर्व सैनिक संघ (गेसो) ले विरोध गरेको थियो ।
नेपाल सरकारको गृह मन्त्रीस्तरीय निर्णयबाट यही असार १७ गते त्यो निर्णय गरिएको र कार्यान्वयनका लागि सम्बन्धित निकायमा परिपत्रसमेत गरिसकिएको छ । नेपाल सरकारको सो निर्णयबाट बेलायती, भारतीय, सिंगापुर प्रहरीबाट अवकाश पाइ हाल नेपालमा पेन्सन पाउँदै गरेका वृद्धवृद्धा प्रभावित हुनेछन् । यस निर्णयबाट बेलायती, भारतीय र सिंगापुर प्रहरीबाट अवकाशप्राप्त लाखौं भूतपूर्व सैनिक र उनीहरुका परिवार प्रभावित हुने जनाइएको छ ।