धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा डा.मोहनचन्द्र रेग्मी नियुक्त भएका छन् ।
प्रतिष्ठानकै प्रसुति विभाग प्रमुख रहेका डा. रेग्मीलाई आइतबार स्वास्थ्यमन्त्री भानुभक्त ढकालले रजिष्ट्रारमा नियुक्त गरेका हुन् । उनले नियुक्तिपत्र पनि बुझिसकेका छन् ।
प्रतिष्ठानका उपकुलपतिले ३ जनाको नाम सिफारिस गरेपछि सहकुलपति एवं स्वास्थ्यमन्त्रीले रजिष्ट्रार नियुक्ति गर्ने प्रावधान छ ।
को हुन् डा. रेग्मी ?
रेग्मी प्रतिष्ठानका स्त्री तथा प्रसुति रोग विशेषज्ञ हुन् । इमान्दार छवि बनाएका उनी प्रतिष्ठानकै प्रतिष्ठित मात्रै होइन प्रदेश १ मै नाम बिक्छ । उनले फिस्टुला उपचारका लागि धेरैको सहयोगी बनेका छन् । उनी गरिबका डाक्टर भनेर समेत चिनिन्छन् । फिस्टुलाको राष्ट्रिय केन्द्र बीपी प्रतिष्ठान नै हो, त्यो बेलादेखि विशेषतः फिस्टुलापीडित महिलाको सेवा गरेर नै उनी गरिबका डाक्टर बनेर चिनिएका हुन् । फिस्टुलाको शल्यक्रियामा डा. रेग्मी नेपालमै अब्बल डाक्टरको रुपमा कहलिएका छन् ।