धरानः धरान–२ भानुचोक छेऊमा रहेको देशीलाइनको सडकले मुहार फेरेपछि स्थानीयसँगै व्यवसायी झनै खुशी र उत्साहित बनेका छन् । यो धरानको गौरवको आयोजना हो ।
‘पहिला साँघुरो र फोहोरजस्तो देखिने सडक अहिले सफाचट र हेर्नलायक बन्यो’, स्थानीय वडा सदस्य समेत रहेका धर्म तामाङ भन्छन्, ‘जे होस् देशीलाइनले मुहार फेरयो, यसले व्यवसायी र स्थानीय उत्साहित बनेका छन् ।’
देशीलाइनको सडक पुनः कालोपत्रेसँगै फराकिलो र सफाचट बनेको हो । यो घरजग्गाधनीले आफै जग्गा छाड्दै र आफै घर भत्काएर बनाउन थालेर उदाहरणीय पेश गरेको सडक हो । विगतमा करिब ४० फुटको बाटोलाई आफ्नो घर भत्काएर मापदण्डअनुसार ५० फिटको बनाउन स्थानीय उपभोक्ताहरूले तत्परता देखाएर उदाहरणीय साथै ऐतिहासिक सडक बनेको हो ।
वडाध्यक्ष माधवगोविन्द श्रेष्ठका अनुसार २०७६ भाद्र १७ गते सम्झौता भएको यो सडक २०७७ असार २५ गते नै निर्माण सम्पन्न भएको हो । १ करोड ३५ लाख ४५ हजार ९९ रुपैयाँको लागतमा बनेको यो सडक साँघुरो बाटोलाई फराकिलो बनाउन स्थानीयले नै सहयोग गरेका हुन् ।
धरानको नयाँ बजार र पुरानो बजारलाई जोड्ने धेरै पुरानो इतिहास बोकेको यो सडक आइतबारदेखि यो सडक सञ्चालनमा आइसकेको छ । गौरव र हेर्नलायक बनेको सडक कत्तिको गुणस्तरीय छ, त्यसबारेमा समय भने लाग्नेछ ।
भानुचोक र आसपास पनि फेरिँदै
धरानको भानुचोकमा अहिले पर्यटकका लागि सुचना बोर्ड पनि राखिएको छ । भिडियो डिस्प्लेमार्फत त्यहाँ सुचना बोर्ड राखिएको हो । धरानलगायत अन्य ठाउँको गतिविधि जानकारी दिने डिस्प्ले बोर्ड राखिएको छ । भिडियोमा धरानबारे जानकारी, प्याराग्लाइडिङगायतका भिडियोहरु देखिनेछन् ।
यस्तै, धरान भानुचोकस्थित लोकतान्त्रिक चौतारीदेखि सब्जीमण्डी छिर्ने अनि मुख्य बजार निस्किने ठाउँसम्म टायल बिछ्याएर बाटो निर्माण गरिएको छ । बाटोसँगै रेलिङ लगाएर बस्ने ठाउँ पनि बनाइएको छ । १५ लाख रुपैयाँको लागतमा सो निर्माण कार्य सम्पन्न भएको हो ।











