धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारत एकजना कोरोना संक्रमितको फेरि मृत्यु भएको छ ।
महोत्तरीका ६० वर्षीय पुरुषको मृत्यु भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिएका छन् ।
उच्च ज्वरो र खोकी लागेर प्रतिष्ठानको इमरजेन्सी ल्याइएको उनको मृत्यु भएको उनले जानकारी दिए । उनमा कोरोना पोजेटिभ रिपोर्ट आएपछि प्रतिष्ठानको कोरोना आइसोलेसन कक्षको आइसियुमा भर्ना गरिएको थियो । आइसोलेसनको आइसियु कक्षमा उपचाररत उनको साँझ मृत्यु भएको उनले जानकारी दिए । प्रवक्ता सापकोटाका अनुसार उनमा कुनै पनि गम्भीर प्रकृतिका रोग भने थिएन ।
योसँगै प्रतिष्ठानमा उपचारका लागि आएका कोरोना संक्रमितको मृत्यु हुनेको संख्या दुई पुगेको छ । यसअघि सप्तरीका एक पुरुषको प्रतिष्ठानमै मृत्यु भएको थियो ।