धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोनाका कारण मृत्यु भएका शशीभुषण झा शव राति नै लगिएको छ ।
मंगलबार साँझतिर उनको मृत्यु भएको थियो । ‘शव राति १२ बजे प्रतिष्ठानबाट नेपाल सरकारको प्रक्रियाअन्र्तगत टोलीले लगिसकेको छ’, प्रवक्ता डा. निदेश सापकोटाले भने ।
धरानमा कोरोना संक्रमितको उपचारका क्रममा दोस्रो व्यक्तिको मृत्यु भएको हो । प्रदेश २ को महोत्तरी जिल्लाका ६० वर्षीय उनको उपचारका क्रममा मृत्यु भएको थियो ।
उनी कोरोनाको लक्षणसहित गम्भीर अवस्थामा साउन ३ गते अस्पतालमा भर्ना भएका थिए । असार २८ गतेबाटै उच्च ज्वरो आउन थालेको उनलाई साउन ३ गते भर्ना गरिएको थियो । उनमा साउन ४ गते कोरोनाको पुष्टि भएको उनले बताए ।
यसअघि प्रतिष्ठानमा सप्तरीका ७३ वर्षीय रामकृष्ण दासको पनि कोभिड १९ कै कारण मृत्यु भएको थियो । हाल प्रतिष्ठानमा उपचाररत ११ जना संक्रमितको भने अवस्था सामान्य छ ।
हाल बीपीमा २ सय ६७ जना उपचारपछि निको भएर घर फिरिसकेका छन् ।