धरानः धरान–१५ का युवामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
बहराइनबाट आएका उनी धरान–१७ स्थित एन्फा क्वारेन्टाइनमा बस्दै आएका थिए । कोरोना पुष्टि भएपछि बीपी प्रतिष्ठान ल्याउने तयारी भइरहेको प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । ‘३१ वर्षीय पुरुषमा पिसिआर पोजेटिभ देखिएको छ, उनलाई ल्याउने तयारी भइरहेको छ ।’ उनले भने ।
हाल प्रतिष्ठानमा १६ जना संक्रमित उपचार रहेको उनले जानकारी दिए । उनीहरूको अवस्था सामान्य रहेको उनले जानकारी दिए ।
उता विराटनगरस्थित विराटनगर अस्पतालका डाक्टरमा कोभिड १९ संक्रमण देखिएपछि अस्पताल पूर्ण रुपमा सिल गरिएको छ ।
महानगरपालिकाले अस्पताल पूर्ण रुपमा सिल गरिएको सूचना भर्खरै अस्पतालबाहिर टाँसिसकेको छ । कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा विराटनगर अस्पतालका डाक्टरमा कोरोना पुष्टि भएपछि अस्पताल सिल गरिएको हो ।
अस्पतालका दुई जनाको स्वाब संकलन गरी कोभिड जाँच गर्दा एक जनामा संक्रमण देखिएको महानगरपालिकाका जनस्वास्थ्य शाखाका सिनियर अहेवा रमेश कार्कीले जानकारी दिए ।
कार्कीको अनुसार अस्पताल सिल गरिएको संक्रमित चिकित्सकको सम्पर्कमा रहेकाहरूको कन्ट्रयाक ट्रेसिङ सुरू गरिने जानकारी दिए । कार्कीका अनुसार अस्पताल भर्ना भएका सम्पूर्ण बिरामी र कार्कीको सम्र्पकमा रहेकाहरू पनि स्वाब संकलन गरिने जानकारी दिए ।
अस्पतालका चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको कुरा बाहिरिए बिरामी नआउने भएको भन्दै उनलाई अस्पतालले प्रशासनले लुकाएर राखेको स्थानीयले बताउँदै आएका छन् ।
फूलमाया पुरी, विराटनगर