Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानेको तनाव हटाउन, आत्महत्या रोक्न ८० जना युवायुवती घरघर पुग्ने

हाम्रो कोशी आवाज
साउन ९ २०७७, शुक्रबार
धरानेको तनाव हटाउन, आत्महत्या रोक्न ८० जना युवायुवती घरघर पुग्ने

धरानः कोभिड–१९ अर्थात् कोरोनाले तनावमा रहेका धरानेलाई सचेत गराउन ८० जना युवतीयुवती फिल्डमै खटिने भएका छन् अर्थात् सचेतना फैलाउन घर घर पुग्ने भएका हुन् ।
धरानमा आत्महत्या दर पनि बढेको पाइएपछि यस्तो सचेतना कार्यक्रम चलाउन लागिएको हो । धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा तथा धरान मेडिकल विद्यार्थी समूहको संयुक्त आयोजनामा यस्तो कार्यक्रम हुन लागेको हो । आम सर्वसाधारणलाई कोरोना रोकथामका बारेमा सचेत गराउन, मानसिक स्वास्थ्य र आत्महत्या रोकथामबारे जनचेतना दिलाउन, असुरक्षित उमेरका वर्गलाई यस महामारीबाट जोगाउन यस्तो फलदायी कार्यक्रम गर्न लागिएको आयोजकले जनाएको छ ।
शुक्रबार धरान उपमहानगरपालिकामा धरानका सबै वडाध्यक्षहरूसँग छलफल चलाइएको थियो । छलफलमा धरान मेडिकल विद्यार्थीहरुको टिमले धरान उपमहानगरपालिकासँगै छलफल गरी यो समय मानसिक क्षतिबाट पर्ने असर र सुरक्षाका विषय सर्वसाधारण समक्ष कसरी पुरयाउन सकिन्छ भन्ने बारेमा छलफल चलाएको थियो । छलफलमा ८० जना विद्यार्थीको समुहलाई १० वटा समूहमा विभाजन गरी २० वटा वडामा पुग्ने लागेको जानकारी दिइयो । नेपाल लगायत, विदेशमा चिकित्सा विज्ञान अध्ययनरत् विद्यार्थीको समूहले यस्तो कार्य गर्न लागेको हो ।
वडामा रहेको टिएलओसँग भेटघाट तथा समन्वय गरी तालिम गरिनुका साथै टोलटोल, घर घरमा गएर २० देखि ३० दिनसम्म क्याम्पिङ आयोजना गरिने विद्यार्थी समुहका सशांक ताम्राकारले जानकारी दिए । बजार क्षेत्रमा भएका वडाहरुमा २० दिन र अन्य वडाहरुमा १० दिन गरी कार्यक्रम सञ्चालन गरिने पनि मेडिकल समुहकै अर्का सदस्य विनम्र घिमिरेले बताए ।
छलफलमा निष्कर्ष निकाल्दै कारोना भाइरस के हो, कोभिड सर्ने तरिका, मानिसबाट मानिसमा कसरी सर्छ, संक्रमणको लक्षण, भाइरसको संक्रमण कसरी रोक्ने, मानसिक स्वास्थ्य, तनाव व्यवस्थापन कसरी गर्ने, आत्महत्यालगायतका विषय साथै मानसिक स्वास्थ्यको लक्षण तथा सामाधानको उपायको बारेमा समेत सचेतना जगाउने कार्य गरिने जनाइएको छ ।
कोरोना संक्रमणको जोखिम कायमै रहेकाले सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन विज्ञले सुझाइरहेको बेला यस्तो कार्यक्रम फलदायी भएको कार्यवाहक मेयर माधवगोविन्द श्रेष्ठले बताए । ‘अझै कतिञ्जेल कोरोना रहने हो कसैलाई थाहा छैन, यसले अझै सर्वसाधारणलाई तनाव साथै आत्महत्या पनि बढाउन सक्छ, यो कार्यक्रम अत्यन्तै फलदायी छ, यसका लागि सबै वडाध्यक्षले सहयोग गरौं ।’ उनले भने ।
कार्यक्रममा डा सञ्जीव मिश्रा र डा. प्रज्वल प्याकुरेलले पनि नेपालमा कोरोना नसकिएको बताए । डा. मिश्राले धरानमा आत्महत्याको दर बढ्नु समय, परिस्थितिको कारण पनि भएको बताए । उनले धरानेलाई सचेत गराउन सकिए केहीहदसम्म आत्महत्या र मानसिक तनावलाई पनि कम पार्न सकिने बताए ।
छिमेकीमूलुक भारतमा समुदायस्तरमा संक्रमण फैलिएको र नेपालमा पनि बन्दाबन्दी खुलेकाले संक्रमणको जोखिम कायमै रहेको उनीहरूको भनाइ छ । ‘संक्रमणको जोखिम कायमै छ, अत्यावश्यक काम नभइकन अझै पनि कोही पनि बाहिर हुँदैन, डा प्याकुरेलले भने, ‘“निस्कन परे कोभिड–१९ का लागि तयार पारिएका स्वास्थ्यका मापदण्ड अपनाएर मात्र निस्कनुपर्दछ । यी र यस्ता कुरामा पनि धरानेलाई सचेत गराइनेछ ।’ उनले भने ।
कार्यक्रममा घर बाहिर निस्कँदा मास्क, स्यानिटाइजर र सामाजिक दूरी कामय राख्नुपर्ने सुझाइएको थियो । यसैगरी बाहिर निस्कँदा हातले केही वस्तु छोए पनि स्यानीटाइजर लगाउनुपर्ने, कोही व्यक्तिसँग कम्तीमा दुई मिटर टाढा रहनुपर्ने, भरसक बसमा यात्रा नगर्ने, गर्नेपरे स्वास्थ्यमा न्यूनतम मापदण्ड अपनाउन समेत उनीहरूको सुझाव थियो ।
फोटोः लक्ष्मण थापा

 

 

प्रकाशित मिति: साउन ९ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend