सुनसरीः बसमा लुटपाट गर्ने ४ जनाको समूहलाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरी सार्वजानिक गरेको छ ।
साउन ९ गते धरानबाट इटहरी आइरहेको बसमा सवार रहेका धरान उपमहानगरपालिका–८ का ५७ वर्षीय डम्वरप्रसाद बाँस्तोलाको साथमा रहेको ९७ हजार ६०० चोरी गरेको आरोपमा ४ जनालाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरुमा जिल्ला काभ्रेपलाञ्चोक रोशी गाउँपालिका–३ का ३६ वर्षीय जीतबहादुर ट्वाटी श्रेष्ठ, रोशी गाउँपालिका–५ का २२ वर्षीय चिउनी भनिने युवराज लामा, भुङलो गाउँपालिका–८ का ३२ वर्षीय सुजन तामाङ भन्ने सनबहादुर लामा तामाङ र तिमाल गाउँपालिका–२ का २६ वर्षीय कमल लामा रहेका छन् ।
यो समूहले इटहरीको ट्याङग्रा खोला छेउमा बसबाट ओर्लन खोजेका बाँस्तोलाको साथमा रहेको नगद, जबरजस्ती लुटपाट गरी फरार भएको भनी घटनाको जानकारी पाएलगत्तै तत्काल खटिएको इलाका प्रहरी कार्यालय इटहरीको प्रहरी टोलीले फरार भएकामध्ये कमल लामालाई तत्काल पक्राउ गरेको थियो भने अन्य ३ जनालाई खोजतलास गर्ने क्रममा सोमबार दिउँसो तरहराबाट पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुको साथबाट नगद १२ हजार ९०० बरामद गरेको छ । पक्राउ परेको यो समूह चोरी गर्नकै लागि काठमाण्डौबाट साउन ८ गते पूर्वतर्फ आएको र धरानको एक होटलमा बस्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । निजहरुको सम्बन्धमा अन्य थप अनुसन्धान भइरहेको तथा सोही घटनामा अन्य दुई जनाको संग्लग्नता रहेको खुल्न आएकोले उनीहरुको समेत खोजतलास भइरहेको प्रहरीले जनाएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर सूचना समन्वय अधिकृत र प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक दीपक पोखरेलका अनुसार उनीहरू चोर्नकै लागि पूर्व आएको खुल्न आएको छ ।
