धरानः धरानमा अहिले मंगलबारसम्म २८ जनामा कोरोनाको संक्रमण देखिएको छ । भनौं समुदायमा संक्रमण फैलिएको आशंका गरिएको धरानमा संक्रमणको ग्राफ पनि बढ्दो छ । धरानमा लकडाउनको अवधिमा एकजनामा मात्रै कोरोना देखिएको थियो । लकडाउन खोलिएसँगै धरानमा कोरोनाको जोखिम बढ्दै गएको पाइएको हो । लकडाउन खोलिएपछि विदेशबाट फर्किएका र उनीहरूको कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको परीक्षणमा २८ जनामा कोरोना देखिएको हो । २८ जना संक्रमितमध्ये ९ जना संक्रमित स्थानीय रहेको पाइएको छ ।
संक्रमण देखिनुअघि नै धरानमा ८० जना युवायुवतीको समूह धरानेको तनाव घटाउने र धरानमा आत्महत्याको जोखिम कम पार्ने भन्दै लागिपरेको छ । अहिले पनि ती युवायुवतीले सचेतना कार्यक्रम गर्दै आएका छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित नेपाल तथा विदेशमा मेडिकल साइन्स अध्ययन गरिरहेका धरानका विद्यार्थीहरूले कोरोना महामारीसम्बन्धी सचेतना फैलाएका हुन् ।
कोरोना भाइरस संक्रमणको हल्लाको त्रासले गर्दा अनावश्यकरूपमा मानसिक तनाव बढाउने भएकोले यस्तो सचेतनामुलक कार्यक्रम आयोजना गरिएको समूहका सशांक ताम्राकारले जानकारी दिए । उनले धरानका १ देखि १६ वडाका टोलटोल पुगिसकेको जानकारी दिए । ४, ५, ६, २० वडा बाँकी रहेको उनले जानकारी दिए । उनले समुदायमा पर्चा, पम्प्लेट वितरणजस्ता कार्यक्रम पनि गर्दै आएको बताए ।
अहिले यस्तो कार्यक्रम प्रभावकारी भएपनि धरानेमा अझै सचेतना कार्यक्रम फैलाउनुपर्ने आवश्यकता रहेको उनले जानकारी दिए । ‘धरानेमा अझै सचेतना कार्यक्रमको जरुरी देखियो’, उनले भने, ‘अहिले पनि धरानेले प्रश्न गर्दै भन्छन्– के कोरोना सर्छ र ? हामीले अवश्य सर्छ नि भनेर फर्किने गरेका छौं ।’
उनले आफूहरू कार्यक्रम लिएर जाँदा कतिपयले कोरोना सक्किसक्यो त कार्यक्रम धेरै ढिला भयो भन्ने गरेको समेत सुनाए । ‘२० मिनेटको सचेतनापछि २० वटा प्रश्न सोधिन्छ, प्रश्नले धराने जनता कोरोनाबारे के कति जानकार भन्ने थाहा हुन्छ’, उनले थपे, ‘तर अधिकांशले कोरोनाबारे केही बुझेको तर कार्यक्रम नै ढिलो आयो भनेर भन्ने गरेको पाइयो ।’
धरानेमा अझै गलत धारणा
उनका अनुसार धरानेमा अझै गलत धारणा रहेको पाइएको छ । ‘धरानेमा कोरोना सक्किसक्यो, लसुन खायो भने कोरोना भाग्छ, निको हुन्छ, अन्य कसैले कोरोनाका औषधि भनेर ल्याइदिए पत्याइदिने, नाक, मुख र आँखाबाट मात्रै होइन मानिसको शरीरबाटै कोरोना छिर्छलगायतका गलत धारणा पनि बोकेको पाइयो’, उनी भन्छन्, ‘यस्ता गलत धारणा पनि चिर्दै अघि बढिरहेका छौं ।’
उनले टोलटोलमा पुग्दा धरानेले अर्को गलत धारणा पनि बोकेको पाइएको बताए । ‘कार्यक्रम गरिरहँदा ‘सामाजिक दुरी कायम गरिदिनुहोस्’ न भनेर भन्छौं तर उहाँहरूले हामी यहीँका बासिन्दा हौं, सँगै सँगै बस्दा पनि हुन्छ भन्ने गरेको पाइयो, यसमा पनि सचेतनाको खाँचो छ ।’
धरानमै कोरोना ‘केस’ बढ्दो, अझै आवश्यक छ कार्यक्रम
कार्यक्रमलाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका बीपी प्रतिष्ठानका डा. प्रज्ज्वल प्याकुरेलले धरानमा केश बढ्दै गएको र यस्तो कार्यक्रम अझै जरुरी रहेको बताए । ‘धरानमा संक्रमण बढ्दो छ भनिरहँदा जनमानसमा डर बढिसकेको छ, त्यही भएर यस्तो कार्यक्रम अझै अघि बढाउनु आवश्यक छ’, उनले भने, ‘उपमहानगरपालिकाले पनि यो कार्यक्रमलाई रोक्न मिल्दैन भनिसकेको अवस्था छ, हामी अझै प्रभावकारी बनाउँदै केही नयाँ प्लानिङ गर्दैछौं ।’
उपमहानगरपालिकाले पनि जोड दिएकोले थप छलफल भइरहेको उनले बताए । ‘धरानमा कोरोनाको नयाँ केश बढिरहेको छ, अब कसरी नयाँ ढंगले कार्यक्रम लिएर जाने भन्नेबारेमा छलफल भइरहेको छ’, उनले भने, ‘धेरै बढेको ठाउँमा अझै त्रसित हुन सक्छन्, त्यहाँ अर्थात् केस देखिएको ठाउँमा नयाँ कार्यक्रम लैजान जरुरी छ, किनभने त्यहाँ कतिको हिँडडुल बढे अझै संक्रमणको जोखिम रहन्छ ।’
धरानमा कोरोनालाई जित्न सकिन्छ !
उनले धरानमा कोरोना रोकथामका लागि प्रभावकारी उपाय भनेकै सामाजिक दुरी अनिवार्य कायम गर्नुपर्ने, मास्क, सेनिटाइजर अनिवार्य रहेको बताए ।
धरानेले मास्क लगाएर घर बाहिर निस्किएपनि घर पुगेपछि भने सावधानी नअपनाएको समेत पाइएको बताए । उनले घर बाहिर निस्किएर घर फर्किएपछि साबुन–पानीले हातखुट्टा राम्ररी धुने, मास्कलाई व्यवस्थित ठाउँमा व्यवस्थित गर्ने, घर आइपुग्नेवित्तिकै घरभित्र छिरीनहाल्ने गरेपनि केही हदसम्म संक्रमण रोक्न सकिने बताए ।
‘धेरैलाई घरबाहिरबाट फर्केपछि के गर्ने भन्नेबारेमा समेत धरानमा राम्रो ज्ञान नभएको पाइयो, ज्ञान भएपनि लापरवाही गर्दै आएको पाइयो’, उनले थपे, ‘घरबाहिरबाट आएपछि दैलोमा छुने, त्यसपछि घरभित्रका अन्य सरसामान छुने अनि मात्रै साबुन–पानीले हात धुने गरेको पाइयो, यस्तो लापरवाही त गर्नु भएन नि ।’
धरानमा मास्क लगाउने तरिकाबारे थप ज्ञान आवश्यक चाहिएको अर्का विद्यार्थी विनम्र घिमिरे बताउँछिन् । ‘कतिपय धरानेको मास्क कालो भइसकेको हुन्छ तर पनि लगाइरहेको पाइयो’, उनले भने, ‘यस्तोबारे पनि थप सचेतना आवश्यक छ भनेर हामी त्यस्तो सचेतना कार्यक्रम पनि गरिरहेका छौं ।’
विद्यार्थी रिमा श्रेष्ठले विद्यार्थीहरुको समूहले संक्रमण बाट सुरक्षित रहन साथै विभिन्न हल्लाको त्रासले अनावश्यक रुपमा मानसिक तनाव बढाउने भएकोले यस्तो कार्यक्रम प्रभावकारी बन्दै गएको बताइन् । विद्यार्थी विकाश ढकालले मानिसमा कोरोना त्रासले शारीरिक दुर्वलता र पौष्टिक खानपिनको कमीले पनि त्रास, निराशा बढ्ने बताउँदै आवश्यक खानेकुरा पनि खाइरहन सुझाएको बताए ।
विद्यार्थीहरुको अभियान धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाको सहकार्यमा सञ्चालन भएको हो । कोरोनाको त्रासले धरानमा आत्महत्या दर पनि बढेको पाइएपछि यस्तो सचेतना कार्यक्रम अझै बढाउनुपर्ने बीपी पञ्तिष्ठानका डा. पञ्ज्ज्वल प्याकुरेलको भनाइ छ । हाल पनि संक्रमण दर कम भएका वडामा कारोना भाइरस के हो, कोभिड सर्ने तरिका, मानिसबाट मानिसमा कसरी सर्छ, संक्रमणको लक्षण, भाइरसको संक्रमण कसरी रोक्ने, मानसिक स्वास्थ्य, तनाव व्यवस्थापन कसरी गर्ने, आत्महत्यालगायतका विषय साथै मानसिक स्वास्थ्यको लक्षण तथा सामाधानको उपायको बारेमा समेत सचेतना जगाउँदै आएको उनले बताए ।




