बिर्तामोडः कोरोना भाइरस (कोभिड १९) को पीसीआर परीक्षणका लागि झापामा दुई वटा ल्याव तयार गरिएको छ ।
सरकारी तबरबाट मेची अस्पतालमा एउटा ल्याव तयार भएको छ भने अर्काे जनस्तरबाट कनकाई नगरपालिका ४ स्थित कोटिहोममा पीसीआर परीक्षणका लागि ल्याव तयार गरिएको हो ।
प्रदेश १ सरकारको समन्वयमा मेची प्रादेशिक अस्पताल भद्रपुरमा तयार भएको ल्यावमा दुई दिनसम्म नमूना परीक्षण गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पिताम्वर ठाकुरले जानकारी दिए ।
स्वीस सरकारले उपलब्ध गराएको अत्याधुनिक पिसीआर मेसिन एक नम्बर प्रदेश सरकारले मेची अस्पताललाई हस्तान्तरण गरेपछि पिसीआर ल्याव तयार गरिएको हो । यो सँगै मेची अस्पतालमा २५ शैथ्याको आइसोलेशन निर्माण गरिएको छ । संक्रमितको उपचारका लागि प्रदेश सरकारले मेची प्रादेशिक अस्पताललाई दुई वटा भेन्टिलेटर समेत उपलब्ध गराएको छ ।
झापासहित पूर्वका पहाडी जिल्ला इलाम, पाँचथर र ताप्लेजुङले अहिले स्वाब संकलन गरी पिसीआर परीक्षणका लागि कोशी अस्पताल विराटनगर र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउँदै आएका छन् ।
अब मेची अस्पतालमै पिसीआर परीक्षण हुन लागेपछि चार जिल्लावासीलाई सहज हुने भएको छ । मेचीमा जडान गरिएको पीसीआर मेसिन अत्याधुनिक भएकाले यसले एक पटकमा ९० वटा स्वाबको परीक्षण गर्न सकिने बताइएको छ । एक नम्बर प्रदेशको सबै भन्दा बढी कोरोना संक्रमित झापा जिल्ला भेटिएका छन् । जिल्लामा अहिलेसम्म ३७५ जना कोरोना संक्रमित भेटिएका हुन् ।
फोटोः सुरेन्द्र भण्डारी