धरानः बिहीबार धरान आइपुगेका एक विद्यार्थीमा कोरोना पुष्टि भएको छ ।
उनी २६ वर्षीय युवा विद्यार्थी हुन् । कपिलवस्तुबाट धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान आइपुगेका उनमा कोरोना देखिएको हो । प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
‘बिहीबार कपिलवस्तुबाट आउनुभएको थियो, आफैं होस्टलमै क्वारेन्टाइनमा बस्दै आउनुभएको थियो, उहाँमा ज्वरो, रुघाखोकी लाग्नेलगायतका लक्षण देखिएपछि उनी आफै प्रतिष्ठानमा स्वाब दिन आइपुगेका थिए ।’ उनले भने, ‘उनलाई हाल आइसोलेसनमा लगिसकिएको छ ।’ उनले प्रतिष्ठानमा आएपछि उनी एक्लै बस्दै आएको र कहीँकतै पनि नहिँडेको पाइएको बताए । ‘अहिले उहाँको ज्वरोचाहिँ हराइसकेको छ’, उनले भने, ‘अवस्था सामान्य छ ।’
यसैबीच प्रतिष्ठानमा उपचार गराइरहेका एक वृद्ध पुरुषको निधन भएको छ । उनमा कोरोना आशंका गरिएको थियो । उनको रिपोर्ट नेगेटिभ आएको उनले जानकारी दिए । मंगलबार आकस्मिक कक्षमा उपचार गर्न आएका बेलबारीका एक वृद्धको निधन भएको थियो । कोरोना आशंका गरेर शनिबार आइसोलेसनमा पठाइएका उनको मङ्गलबार निधन भएको हो । ‘दुईदिनअघि पिसिआर रिपोर्ट नेगेटिभ आएको थियो’, प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले भने, ‘तर फेरि चेकजाँच गर्दा उनको रिपोर्ट नेगेटिभ नै आयो ।’ उनले भने ।