धरानः बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टरलाई समेत कोरोना देखिन थालेपछि भोलि (बुधबार) देखि ओपिडी सेवा बन्द हुने भएको छ ।
प्रतिष्ठानको डाक्टरसहित परिवारमा पनि कोरोना देखिएपनि सुरक्षा सतर्कताका लागि यस्तो निर्णय भएको प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । उनले आकस्मिक र भर्ना भएका बिरामीको उपचार बाहेकका सेवा बन्द भएको जानकारी दिए । अर्को सूचना नभएसम्मका लागि बन्द भएको उनले जानकारी दिए । कोरोना भाइरस संक्रमण नभएका बिरामीलाई पनि उपचार सेवा दिनुपर्ने भन्दै यसअघि बन्द रहेको ओपिडी केही हप्ताअघि सञ्चालनमा आएको थियो ।
प्रतिष्ठानको आकस्मिक कक्षमा उपचारका लागि आएका बिरामीलाई प्रवेशद्वारमै ओपीडीको पुर्जी दिइने र एक बिरामीका लागि एक कुरुवामात्र छिर्न पाउने व्यवस्था गरिएको उनले जानकारी दिए । आउने बिरामी र कुरुवाले मास्क अनिवार्य लगाएको हुनु पर्ने पनि प्रावधान राखिएको छ ।