धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा फेरि एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
एक ८५ वर्षीया महिलाको निधन भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । ढल्केबर-७, धनुषाकी महिलाको मृत्यु भएको हो । गत २६ गते ल्याइएको उनलाई ज्वरो, खोकी लगायतको समस्या थियो । उनमा ज्वरो, खोकीसँगै स्वासप्रश्वासमा पनि समस्या भएपछि यहाँ ल्याइएको र उपचारको क्रममा निधन भएको उनले जानकारी दिए । उनले शवको व्यवस्थापन समेत भइसकेको जानकारी दिए । उनको उपचारका क्रममा बुधबार नै निधन भएको उनले जानकारी दिए । योसँगै प्रतिष्ठानमा मृत्यु हुनेको संख्या ६ जना पुगेको छ । गत बुधबार मात्रै बुढीगंगा गाउँपालिका २ मोरङका ५५ वर्षीय पुरुषको उपचारको क्रममा निधन भएको थियो ।
विगत २४ घण्टामा बीपीमा २ जना भर्ना भएको र ७ जना कोरोना जितेर घर फर्किएको उनले जानकारी दिए । हालसम्म प्रतिष्ठानबाट ३२२ जना उपचार भई डिस्चार्ज भएको उनले जानकारी दिए ।