धरानः धरान–८ बरगाछीका एक ६७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएपछि विजयपुर हस्पिटलको ‘आइसोलेसन वार्ड’ सिल गरिएको छ ।
उनी सोही वडाका जग्गा तथा हार्डवेयर व्यवसायी हुन् । छातीमा समस्या देखिएपछि उनलाई साताअघि अस्पताल भर्ना गरिएको थियो । निमोनियाले च्यापेपछि शंका लागि उनको मंगलबार प्रतिष्ठानको हेल्प डेक्सबाट स्वाब संकलन गरिएको थियो । उनको उपचार विजयपुर हस्पिटलमा केहीदिनदेखि उपचार भइरहेकोले अहिले सो हस्पिटलको आइसोलेसन वार्डलाई मात्रै सिल गरिएको हस्पिटलका निर्देशक प्रभाव खतिवडाले बताए ।
कोरोना संक्रमित बिरामी राखिएको आइसोलेसन वार्डलाई सिल गरिएको उनले जानकारी दिए । उनले कोरोना शंकास्पद बिरामीको लागि अलग्गै वार्ड तयारी गरिएको थियो । संक्रमित व्यक्तिको उपचारमा संलग्न अर्थात् फ्रन्टलाइनमा काम गर्ने चिकित्सक, नर्स, मेडिकल अधिकृतलाई होम क्वारेन्टाइनमा रहन निर्देशन दिइसकिएको उनले जानकारी दिए ।
‘एक जना फिजिसियन चिकित्सक, एक जना मेडिकल अधिकृत, ४ जना नर्स र २ जना सरसफाइकर्मी उहाँको उपचारमा रहनुभएको थियो । उहाँहरूलाई होम क्वारेन्टाइनमा बस्न भनिसकिएको छ ।’ उनले भने ।