विराटनगरः कोशी अञ्चल अस्पताल विराटनगरमा मृत्यु भएका युवाको मृत्युअघि नेगेटिभ र मृत्युपछि पोजेटिभ रिपोर्ट आएको पाइएको छ ।
बिहीबार दिउँसो मृत्यु भएका ३० वर्षीय पुरुषको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो । महानगरपालिका–१५ का ती पुरुषमा कोरोनासँग मिल्दो लक्षण ज्वरो आउने, रिंगटा लाग्ने, श्वासप्रश्वासमा समस्या आएपछि बिहीबार भर्ना भएका थिए । पहिलो रिपोर्ट नेगेटिभ आएपछि शंका लागि फेरि परीक्षण गरिएको थियो । चिकित्सकहरुले युवकको मृत्यु भइसकेपछि राति ११ बजे दोस्रोपटक परीक्षण गरेका थिए । युवकको भने ४ बजे नै मृत्यु भएको थियो । शुक्रबार बिहान ५ बजे पोजेटिभ रिपोर्ट आएको डा. लक्ष्मीनारायण यादवले बताए ।
३० वर्षीय पुरुषको मृत्यु भएसँगै विराटनगरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६ पुगेको छ ।