धरानः धरानमा थप सातजनामा कोरोना पुष्टि भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चार नर्ससहित सातजनामा कोरोना पुष्टि भएको हो ।
प्रतिष्ठानका चारजना नर्समा कोरोना पुष्टि भएको छ । प्रवक्ता डा. निदेश सापकोटाले चारजना नर्समा कोरोना पोजेटिभ देखिएको जानकारी दिए ।
‘पहिला मेटरनल आइसियुमा कोरोना पोजेटिभ देखिएका एकजनाबाट दुईजना नर्समा पोजेटिभ देखिएको हो’, उनले भने, ‘ती दुई नर्सको कन्टयाक्ट ट्रेसिङका आधारमा उहाँहरूको परीक्षण गर्दा चारजना नर्समा कोरोना पुष्टि भएको हो’, उनले भने । योसँगै प्रतिष्ठानमा ६ जना नर्समा कोरोना पोजेटिभ देखिएको उनले जानकारी दिए ।
यता बीपी प्रतिष्ठानमा उपचार गर्न आएका उदयपुरका दम्पत्तिको कन्टयाक्ट ट्रेसिङका आधारमा परीक्षण गर्दा धरान-१८ का तीनजनामा कोरोना पुष्टि भएको छ । धरान-१८ स्थित एक होटलका सञ्चालिकासहित अन्यमा कोरोना देखिएको वडाध्यक्ष प्रविण राईले जानकारी दिए ।
धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताले तीनजनामा कोरोना पुष्टि भएको जानकारी दिए । ‘वडाबाट सबै जानकारी आइसकेको छ’, उनले भने । होटलका छेऊछाउका समुदायमा ८ जनाको स्वाब संकलन गरिएको र यस्तो रिपोर्ट आएको उनले जानकारी दिए । होटल सञ्चालिका ३० वर्षकी महिला, उनको २३ महिनाको छोरी र सञ्चालिकाकी ३२ वर्षकी दिदीलाई संक्रमण पुष्टि भएको उनले जानकारी दिए । ‘अहिले हामी मेयर तिलक राईसहित म (वडाध्यक्ष) पनि सँगै छु, उहाँहरूलाई बीपीको आइसोलेसनमा लैजाँदैछौं’, वडाध्यक्ष राईले भने ।

