सांकेतिक तस्वीरः गुगलबाट
धरानः धरानमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दैछ । फ्रन्टलाइनमा खटिएर काम गर्दै आएका नर्स (स्वास्थ्यकर्मी) पनि यसबाट अछुतो छैनन् । धरानको मात्रै कुरा गर्ने हो भने धरान घर भएका तीनजनामा कोरोना पुष्टि भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मात्रै ६ जना नर्समा कोरोना पुष्टि भइसकेको छ, तीमध्ये तीनजना धरानका र अन्य सबै बाहिर जिल्लाबाट प्रतिष्ठान आएर कार्यरत् हुन् । यस्तै, बीपीकै डाक्टर पनि संक्रमित छन् । बीपी पं्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले हालसम्म ९ जना नर्समा कोरोना पुष्टि भएको जानकारी दिए । यस्तै, धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले ९ जना नर्समध्ये धरानका तीन रहेको बताए । उनले सबै नर्सको अवस्था अहिले सामान्य रहेको जानकारी दिए । अहिले डाक्टर र नर्समै पनि कोरोना पोजेटिभ देखियो भनेर सर्वसाधारणमा केही डर, त्रास पनि होला । तर निर्देशनको पालना गरे कोरोनाले छुँदैन । यसै विषयको सेरोफेरोमा रहेर फ्रन्टलाइनमा काम गर्दागर्दै कोरोना पोजेटिभ देखिएकी धरानकी नर्सको कोरोना अनुभव समेट्ने कोसिस गरेका छौं ।
फ्रन्टलाइनमा काम गर्ने भनिएकी धरानकी एक नर्सले कोरोनाले कसलाई कतिबेला आक्रमण गर्ने हो भन्ने थाहा नहुने बताइन् । विभिन्न सञ्चार माध्यममा समाचार सुनेको पछि आफैलाई कोरोनासँग लड्नुपर्दा फरक अनुभव भएको उनले बताइन् । ‘कस्तो होला कोरोना भनेर सोचेको थिएँ, अहिले प्रत्यक्ष भोग्दैछु’, उनले भनिन्, ‘सुरुमा देखिएको आफू सामान्य अवस्थामा छु, होम आइसोलेसनमै छु ।’ उनले भनिन्, ‘मैले सम्पूर्ण स्वास्थ्य सुरक्षा सामग्री प्रयोग गरेकी थिएँ तर पनि पोजेटिभ रिपोर्ट आयो ।’
सुरुमा केही डर लागेको बताउने उनले लक्षण देखिएपनि खासै समस्या नभएको बताइन् । ‘लक्षण देखियो, खासै त्यस्तो केही फिल भएन, अहिले आइसोलेसनमै छु, ढुक्क छु ।’ उनले भनिन् ।
दिनमा पटक–पटक तातोपानी पिउँदै आएको बताउने उनले मोबाइल हेर्दै, किताब पढ्दै, एक्सरसाइज गर्दै, टेलिभिजन र इन्टरनेटमै रमाउँदै समय बित्दै र बिताउँदै आएको बताइन् । उनको अहिले पनि आत्मबल घटेको छैन रे । ‘आत्मबल नै ठूलो रहेछ’, उनले भनिन्, ‘सरकारी निर्देशन पालना गरे पुग्छ ।’ उनले सबैजना कोरोनासँग डराउने गरेको बताउँदै उनले जसरी डराएपनि कोरोना केही रहेनछ भन्ने अनुभव गरेको बताइन् । ‘धेरैले भूतजस्तै सम्झेर तर्सिन्छन् पनि’, उनले भनिन्, ‘तर होइन रहेछ भन्ने अनुभव भइरहेको छ ।’
उनले समाजको हेर्ने दृष्टिकोण केही फरक भएको बताइन् । ‘रोग एकातिर छ तर समाजले हेर्ने दृष्टिकोण पनि फरक भइदिँदा त्यसले चाहिँ असर गर्दै आएको पाइएको छ, जसले मनोबल घट्छ असर गर्दोरहेछ, कमजोर बनाउँदो रहेछ । त्यसैले समाजमा हेर्ने व्यवहार समान देखिनुपर्दछ र हुनुपर्दछ ।’
उनले कोरोनाले जुनसुकैलाई समात्ने र संक्रमितलाईचाहिँ घृणा गरिहाल्न नहुने सुझाइन् । ‘भोलि जसलाई पनि भेट्न सक्छ, त्यसैले समाजमा बसिसकेपछि घृणाको भावना देखाउनु राम्रो होइन, घृणा सहनुपर्छ भनेरै धेरै कोरोना परीक्षणदेखि नै डराउँछन्, यसो गर्नु कदापी राम्रो होइन ।’ उनले सबै सर्वसाधारणलाई सावधानी अपनाउँदै स्वास्थ्यमा विशेष ख्याल राख्न आग्रह गरिन् । ‘सामाजिक दुरी कायम गर्दै, सरसफाइमा ध्यान दिऔं भने मात्रै पनि धरानबाट कोरोना भगाउन सकिन्छ ।’ उनले अन्त्यमा भनिन् ।
अन्तवार्ताः ‘अहिले म ठीक छु’
अहिले कस्तो अवस्थामा हुनुहुन्छ ?
–मेरो घर धरान नै हो । म केहीदिनदेखि अहिले होम आइसोलेसनमै छु । अहिले मेरो स्वास्थ्य एकदमै राम्रो छ । कोरोना संक्रमित कस्ता होलान् भनेर पहिला आफैं सोंच्थें तर काम गर्दागर्दै आफैं आफै संक्रमित भएँ ।
हाल केही लक्षण छ ?
–छैन, केही छैन, शुरूमा एकदिन ज्वरो आएको थियो, त्यतिबेला ज्वरो आएपछि जिउ, हात दुखेको थियो । अहिले ज्वरो आउने, सास फेर्न गाह्रो हुने, केही नै छैन । म ठीक छु ।
पहिला आएको ज्वरो कसरी ठीक भयो ?
–परिवारले अदुवा, बेसार, ल्वाङ खान दिनुभयो, खाना नियमित खाएँ, आफैं ठीक हुँदै गयो । अहिले म मा केही लक्षण छैन ।
अहिले कस्तो अनुभव भइरहेको छ ?
–सुरुमा त डर लाग्यो । ‘माइन्ड’ मा ला प्रहरी आउँछ, लान्छ अनि छरछिमेक सबैले थाहा पाउँछ, कोरोना लागेको यस्तो परिवार भन्दै परिवारलाई नै पनि सबैले हेला गर्छ होला भन्ने सोचेंको थिएँ तर अहिले सहज ‘फिल’ भइरहेको छ । साँच्चै भन्ने हो भने त्यतिबेला हातखुट्टा कामेर बेहोसै हुन्छु जस्तो भयो तर एकछिनपछि त्यो पनि हट्यो । वडाध्यक्षले पनि फोन गर्नुभयो, भिन्नै आइसोलेसन छ कि छैन भनेर सोध्नुभयो, मैले छ भनेपछि सामाजिक दुरी कायम गरेर होम आइसोलेसनमा बस्नुहोस् भन्नुभयो । अहिले म मा डर, त्रास केही छैन, सहजै कोरोना जित्छु भन्ने आँट पालेको छु ।
मेरो नजरमा आत्मबल बढाएर अघि बढे रोग प्रतिरोधात्मक क्षमता बढ्ने र कोरोना जितिन्छ । अहिले परिवार, आफन्त, बीपीका स्टाफहरू सबैले ‘पूर्ण सपोर्ट’ गरिरहनुभएको छ, आफन्तले पनि ‘साइकोलोजीकल’ रुपमा राम्रो हुन्छ, नआत्तिनु भनिरहनुभएको छ । धेरै खुशी लाग्छ ।
अहिलेका संक्रमित र संक्रमण नभएकाहरूलाई के सन्देश दिन चाहनुहुन्छ ?
– संक्रमण भएपनि नआत्तिकन, यसलाई भुत नसम्झीकन बिना डरत्रास नै जित्न सकिन्छ । संक्रमण भनेको कसलाई हुन्छ, कसलाई हुँदैन केही थाहा हुँदैन । काम छैन भने ‘बाहिरफेर’ ननिस्किएकै राम्रो हो । त्यसैले बाहिरफेर हिँड्दा पनि आफ्नो सुरक्षालाई पहिलो प्राथमिकतामा राखौं भन्न चाहन्छु ।’
(धरान निवासी धरानस्थित बीपी प्रतिष्ठानमा कार्यरत् ३१ वर्षीय नर्ससँगको कुराकानीमा आधारित, उनकै अनुमतिमा नाम, ठेगाना र फोटो गोप्य राख्ने सहमतिमा यो लेख र अन्तर्वार्ता प्रकाशित भएको हो)



