धरानः धरानमा अर्की नर्समा पनि कोरोना पुष्टि भएको छ । उनीसहित आज (शनिबार) चारजनामा कोरोना पुष्टि भएको छ । यस्तै, अख्तियारमा काम गर्ने धरानका कर्मचारीलाई पनि कोरोना पुष्टि भएको छ ।
नर्स बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको एनआइसियुमा कार्यरत रहेको र धरान-११ घर भएपनि धरान-१८ ठेगाना लेखाइएको पाइएको छ । तीस वर्षीय ती नर्सको घर सरस्वती चोक रहेको धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताले जानकारी दिए ।
यस्तै, अख्तियारमा काम गर्ने धरानका कर्मचारीमा पनि कोरोना पुष्टि भएको छ । धरान–१७ का उनी बर्दीबास अख्तियारको कार्यालयमा कार्यरत कर्मचारी रहेको पाइएको छ । ४९ वर्षीय ती पुरुष ज्वरो आएर धरान-१२ मा कोरोना परीक्षण गराउँदा उनमा कोरोना पोजेटिभ रिपोर्ट आएको उनले जानकारी दिए ।
चारजनामध्ये एकजना ४५ वर्षीय पुरुष दुहवी सुनसरीका रहेका उनले जानकारी दिए । उनले धरान-१८ ठेगाना लेखाएका थिए । बीपीमा पिसिआर परीक्षण गरिँदा धरान-१८ ठेगाना लेखाइने गरिएको उनले जानकारी दिए । ज्वरो आएर सास फेर्न गाह्रो भएपछि उनी आफैं बीपी प्रतिष्ठान आएर पिसिआर चेकजाँच गरेका थिए । यस्तै, धरान-१७ का ५४ वर्षीय एक पुरुषमा पनि कोरोना पुष्टि भएको उनले जानकारी दिए ।