धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानले उपचारमा रहेका बिरामी वा अन्य व्यक्तिलाई स्वास्थ्य परामर्श चाहिएमा फोनमार्फत् सेवा दिने भएको छ ।
बीपीमा समेत कोरोना संक्रमित बढ्दै गएपछि ओपिडी सेवा अहिले बन्द छ । अस्पतालले चिकित्सकीय परामर्श आवश्यक भएकालाई फोनमार्फत् नै सेवा दिने व्यवस्था मिलाएको हो । अस्पतालले केही विभागका विशेषज्ञ चिकित्सक परामर्श लिन सकिने भन्दै सम्पर्क व्यक्ति र सम्पर्क नम्बर सार्वजनिक गरेको छ । प्रतिष्ठानको इन्ट्रनल मेडिसिन विभागले भने बिरामीको उपचार गर्ने आइतबार देखि निःशुल्क टेलिफोन स्वास्थ्य परामर्स सेवा सुरु गर्ने भएको हो । विभागले टेलिफोनमार्फत् स्वास्थ्य परामर्स सेवा दिने भएको छ ।
विभागले आइतबारदेखि शुक्रबारसम्म प्रत्येक दिन बिहान १० बजेदेखि १ बजेसम्म यो सेवा दिन लागेको हो । कोभिड १९ सगै मधुमेह, मुटु, क्यान्सर लगायतका दीर्घरोगीहरुसँगै अन्य बिरामीहरुले समेत निःशुल्क टेलिफोनबाट सेवा लिन सक्ने विभागले जनाएको छ । टेलिफोनबाट परामर्शसँगै आवश्यकता अनुसार सामाजिक सञ्चालनबाट समेत सेवा दिइने विभाग प्रमुख प्राध्यापक डाक्टर सञ्जिव शर्माले बताए ।
