धरानः सुनसरी उद्योग वाणिज्य संघको ५७ औं वार्षिकोत्सव सम्पन्न भएको छ ।
धरान उपमहानगरपालिकाका उपप्रमुख मन्जु भण्डारी (सुवेदी) को प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष गिरिधारी सापकोटाले गरेका थिए ।
साधारणरुपमा आयोजना गरेको सो कार्यक्रममा प्रमुख अतिथि भण्डारीले सुनसरी उद्योग वाणिज्य संघ स्थानीय सरकार र व्यापारीबीचको सम्बन्धको सेतुको रुपमा रहेको बताएकी छिन् । भण्डारीले पर्यटकीय नगरीको रुपमा रहेको धरानमा मन्दिर मात्र होइन, धरानलाई अझ उत्कृष्ट गन्तव्य बनाउनका लागि थप लगानी गर्नुपर्ने बताइन् ।
कार्यक्रममा संघले कोभिड–१९ को महामारीबाट सुरक्षित रहनका लागि धरान उपमहानगरपालिका, इलाका प्रहरी कार्यालय धरान, सशस्त्र प्रहरी बल बेस क्याम्प फुश्रे र जिल्ला ट्राफिक कार्यालयलाई फेस शिल्ड, मास्क, सेनिटाइजर र गाडीमा सेनिटाइज गर्ने उपकरण समेत संघले प्रदान गरेको थियो ।
त्यसैगरी सो कार्यक्रममा २०७६ साल फागुन १५ देखि चैत्र ७ गतेसम्म संघले आयोजना गरेको औद्योगिक व्यापार मेला–२०७६ को स्कुटी उपहार नतिजा समेत घोषणा गरिएको थियो । मेला अवधिमा प्रवेश टिकटको अर्धकट्टीमध्येबाट गोला प्रथाद्वारा टिकट नं. १८६५० लाई स्कुटी बिजेता घोषणा गरिएको कार्यसमिति सदस्य विष्णु बरालले बताए ।
सो कार्यक्रममा इलाका प्रशासन कार्यालयका प्रमुख चन्द्रबहादुर कार्की, इलाका प्रहरी कार्यालय धरानका प्रमुख ज्ञानेन्द्रबहादुर बस्नेत, सशस्त्र प्रहरी कार्यालय, धरानका प्रमुख सुमन पोख्रेल, नेपाल पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष सन्तोष काफ्ले, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख अन्जन कोइराला, धरान उपमहानगरपालिकाका प्रहरी निरिक्षक विष्णु कोइरालाको उपस्थिति रहेको थियो ।
कार्यक्रममा महासंघका काफ्ले, इलाका प्रशासन कार्यालय धरानका प्रमुख चन्द्रबहादुर कार्कीले समेत शुभकामना मन्तव्य दिएका थिए भने संघका प्रथम उपाध्यक्ष शिवराज श्रेष्ठले धन्यवाद मन्तव्य दिएका थिए । कार्यक्रमको सञ्चालन संघका महासचिव राजेश अग्रवालले गरेका थिए । फोटोः विष्णु बराल


