धरानः धरान-इटहरी सडक खण्डमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
इटहरीस्थित यातायात कार्यालय अगाडि कोशी लोकमार्गमा गुडिरहेको ट्रक र मोटरसाइकल एक आपसमा जुध्दा गम्भीर घाइते बनेका एकजनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरी धरानका इनिस्पेक्टर अनिल माबोले जानकारी दिए ।
मृत्यु हुनेमा मोटरसाइकल चालक तेह्रथुमको लाली गुराँस नगरपालिका ९ सोल्माका ३५ वर्षीय धनराज लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ । बुधबार करिब १२ः१० बजे ०५९प७८७१ मोटरसाइकल र प्रदेश १–०२–००–ख ००२ नम्बरको ट्रक एकआपसमा जुध्न पुगेका थिए ।
दुर्घटनामा गम्भीर घाइते बनेका मोटरसाइकल चालक लिम्बूलाई तत्कालै धरानस्थित बीपी प्रतिष्ठानमा उपचारका लागि ल्याइएको थियो । उपचारका क्रममा करिब साढे १ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
एकै दिशामा गुडिरहेका सवारी कसरी ठोक्किए भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ओभरटेक गर्ने क्रममा दुर्घटना भएको हुनसक्छ ।