Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनदेखि गाडीसम्म प्रमाण नै नहुने वस्तुमा लगानी बढ्दो

रुषा थापा
कार्तिक १७ २०८३, मंगलबार
सुनदेखि गाडीसम्म प्रमाण नै नहुने वस्तुमा लगानी बढ्दो

नेपालमा वि.सं. २०२२ सालमा सुन प्रतितोला ८० रुपैयाँ रहेको पाका बुढापाका बताउँछन् । त्यतिबेला चाँदी त बिक्री नै नहुने उनीहरुको भनाइ छ । २०८२ माघमा सुन प्रतितोला तीन लाख ३९ हजार तीन सय रुपैयाँ पुगेको थियो । बनाउने ज्यालासहित चार लाख रुपैयाँ हुन्थ्यो । चाँदी पनि आठ हजार ६७० रुपैयाँ पुगेको थियो । ज्यालासहित दश हजार रुपैयाँ ।
सर्वसाधारणले यति मूल्यमा सुनचाँदी किन्थे, व्यापारीले पैसा लिन्थे तर भ्याट बिल दिँदैनन् थिए । देशभर कति सुन छ ? कोसँग कति सुन छ ? त्यो सुन कुन आयस्रोतले खरिद गरिएको हो ? के प्रयोजनका लागि किनिएको हो ? राज्यका कुनै पनि निकायलाई थाहा छैन । यसले सुन कालोधन लुकाउने उपयुक्त माध्यम बन्दै गएको छ ।
त्यसैले, अब सुनचाँदी पनि घरजग्गा, गाडी, सेयरजसरी सम्बन्धित निकायमा दर्ता हुनुपर्ने र कर तिर्नुपर्ने व्यवस्था गर्न आवश्यक गर्नुपर्छ । यसमा ढिलाई गर्नुहुन्न । किनकि जति ढिलो गर्यो, त्यति नै राज्यलाई हानि हुनेछ । अहिले त भ्रष्टाचार गरिएको, गैरकानूनी रुपमा आर्जित, राजस्व छलेको पैसाबाट सुनचाँदी किनेर घर वा बैंक, वित्तिय संस्थामा थुपार्ने क्रम बढ्दो छ ।
एक महिनाअघि तोलाको चार लाख हालेर सुन किनिएको हुन्छ, अनि सम्पत्ति विवरणमा चाँहि पुख्र्यौली सम्पत्ति भनी देखाइन्छ । सत्तामा रहेकादेखि आम नागरिकसम्मले यसो गरिरहेका छन् । कोहीसँग सयौं तोला सुन छ त कोहीसँग एक तोलासमेत छैन । अनि सयौं तोला सुन किन्ने हैसियत कसरी बन्यो ? राज्यले खोजतलास गर्नुपर्छ कि पर्दैन ? यो काम सरकारको हो कि होइन ? सुनलाई गहनाका रुपमा मात्र हेर्ने दिनहरु बितिसकेको छ ।
त्यसैले, सरकार पनि चनाखो हुन आवश्यक छ । सुनचाँदीजस्ता गरगहनामाथि पनि निगरानी राख्नुपर्ने बेला आइसकेको छ । सरकारको आँखा पर्दैन भनेरै राजनीतिक दलका नेतादेखि उच्च पदस्थ कर्मचारी, व्यापारीहरुले सुनचाँदीमार्फत कालोधन लुकाएका छन् । उनीहरुसँग हजारौं तोला सुनचाँदीका गरगहना छन् । केहीगरी स्रोत देखाउनु परेमा पुख्र्यौली सम्पत्ति भनेर उम्किन्छन् ।
यसकारण अब सरकारले सुनचाँदीजस्ता गरगहना पनि सरकारी निकायमा अनिवार्य दर्ता हुनुपर्ने व्यवस्था गर्दै ती गहना कहिले कति मूल्यमा किन किनिएको हो ? कुन पैसाले खरिद गरिएको हो ? विवरण राख्नुपर्छ । यसो गरिएमा सुनचाँदी चोरीका घटना आफैं नियन्त्रण हुनेछन् । अहिले त मानिसको कान, हातसमेत काटेर सुनचाँदी लुटपाट गरिन्छ ।
यसले गरगहना लगाएर हिँड्न वा घरमै राख्न पनि निकै जोखिमपूर्ण छ । अर्कोतर्फ, चोरीका सुनचाँदी सजिलै पसलहरुमा किनबेच गरिन्छ । सस्तो मूल्यमा पाइएपछि व्यापारीहरु चोरीका गरगहना किनिहाल्छन् । र, त्यसबाट नयाँ गरगहना बनाएर महँगो मूल्यमा बेच्छन् । उता, आफ्नो गरगहना चोरिएका व्यक्तिहरु त हेरेको हेर्ये हुन्छन् । केहीगरी उनीहरुले चोरिएका आफ्ना गरगहना भेटेपनि पाउन सक्दैनन् ।
किनकि यो मेरो गहना हो भनेर दाबी गर्न उनीहरुसँग प्रमाण नै हुँदैन । गहनाको डिजाइन एउटै भइहाल्छ नि भनी पसले उम्किन्छन् । तर, सुनचाँदीजस्ता गरगहनामा पनि दर्ता नम्बरको व्यवस्था गरिएमा गहना लुटपाट वा चोरी भएमा पनि किनबेच हुन सक्दैन । किनकि दर्ता नम्बर भएपछि व्यापारीहरु फस्छु भनेर पनि चोरिएका वा लुटिएका सुन किन्दैनन् । अनि बिक्री नै नभएपछि कसले सुनचाँदी लुट्छ वा चोर्छ ?
यसकारण सरकारले सुनचाँदीजस्ता गरगहना पनि घरजग्गा, गाडी, सेयरजसरी दर्ता हुनुपर्ने व्यवस्था गर्दै यसको नियमनका निम्ति निकाय खडा गर्नुपर्छ । यसो गरिएमा राज्यलाई लाभैलाभ हुनेछ । एकातिर कालोधन लुकाउन गरगहनाको प्रयोग गरिने प्रवृत्तिको अन्त्य हुनेछ, अर्कोतर्फ राज्यलाई पनि राजस्व आउनेछ । सँगै बिनाकारण सुनचाँदी किनेर थुपार्ने क्रम पनि रोकिनेछ ।
०८३ कात्तिक १५ गते सुन तोलाको दुई लाख ७२ हजार रुपैयाँमा झर्यो । चाँदी तीन हजार ६ सय रुपैयाँ । यही सुन दश महिनाअघि तोलाकै चार लाखमा किनबेच भएको थियो भने पाँच–छ दशकअघि ८० रुपैयाँ तोलामा समेत नबिकेको अवस्था थियो । सुन उही हो । लम्बाई, चौडाई बढेको छ न गुणस्तर । अनि मूल्य चाँहि कसरी बढिरह्यो ? यसका पछाडि सुन व्यापारीहरु छन् ।
उनीहरुले आफूखुशी सुनचाँदीको मूल्य निर्धारण गर्दै आएका छन् । भन्ने बेला चाँहि अन्तर्राष्ट्रिय मूल्यअनुरुप गरिएको दाबी गर्छन् । आफूले किन्नेबेला सुनको मूल्य स्वाट्टै घटाइदिने, बेच्ने बेला ह्वात्तै बढाइदिने काम उनीहरुले गर्ने गर्छन् । जसका कारण आम सर्वसाधारण डुबिरहेका छन् । केही नाफा हुन्छ कि भनेर महँगो मूल्य हालेर किनिएको सुनचाँदीको मूल्य घट्दा उनीहरु त डुब्ने भए नै ।
त्यसैले, अब राज्यका निकाय आफैंले सुनचाँदीको मूल्य निर्धारण गर्न आवश्यक छ । सुनजसरी घरजग्गा, गाडी, सेयरमा पनि सर्वसाधारण नराम्ररी फसेका छन् । बैंक, वित्तिय संस्थाले प्रतिकित्ता एक सय रुपैयाँमा सेयर निष्काशन गर्छन् । यही सेयर ०७८ भदौ ३ गते ३२ सय ८७ मा किनबेच भयो । ०८३ भदौ १५ गते सेयर घटेर २५ सय १३ अंकमा झर्यो । त्यसअघि १७ सयमा समेत झरेको थियो । अनि झण्डै ३३ सय कित्तामा सेयर किन्नेहरु डुबे कि डुबेनन् ? यता, घरजग्गामा पनि यस्तै भयो ।
रोपनीको पाँच हजारमा किनिएको खेतबारी, डाँडाकाँडा प्लटिङ गरेर आनाकै लाखदेखि करोडौंमा बेचियो । यतिमात्र होइन, सरकारी, सार्वजनिक, गुठी, ऐलानी, हदबन्दी बढी, वनजंगल, मठमन्दिर, राजपरिवार, खोला नदीलगायतका जग्गासमेत दर्ता गरेर महँगामो बेचिएको छ । अनि जग्गा पाँच दशकअघिकै मूल्यमा आएमा वा सरकारले आफ्नो सबै अतिक्रमित जग्गा फिर्ता ल्याउने भएमा महँगोमा जग्गा किन्ने र त्यसमा लगानी गर्ने बैंक, वित्तिय संस्थाको हालत के होला ?
छिमेकी मुलुक भारत, चीनसहितमा ५० हजारदेखि दश लाखमा बनेका सवारीसाधन अटो शोरुमहरुले नेपाल भित्र्र्याएर पाँच लाखदेखि २४ करोडसम्ममा बेचेका छन्, अहिलेपनि बेच्ने क्रम जारी छ भने ऋणधन गरेर गाडी किन्ने र त्यसमा लगानी गर्ने बैंक, वित्तिय संस्था पनि बढ्दो छ । गाडी फलाम, सिसा, रबर, कपडा, फर्मलगायतबाट बनेको हुन्छ । यी वस्तु दुई रुपैयाँ किलोमा समेत कवाडीले लग्दैनन् । गाडी बिग्रिएमा त बनाउन सकिन्छ, तर आगो लागेमा के छ ? जेनजी आन्दोलनका बेला हामी सबैले देखिसक्यौं ।
करोडौंको सरकारी गाडीहरु जलेपछि किलोको एक रुपैयाँमा समेत नबिकेको अवस्था छ । घरजग्गा, गाडी, शेयर विलासित वस्तु हुन् । तर, यो कुरा थाहा हुँदाहुँदै सर्वसाधारणदेखि बैंक, वित्तिय संस्थासम्मले यी वस्तुमा लगानी गरे । यतिमात्र स्मार्टफोन, फ्रिज, घडीजस्ता विलासित वस्तुहरुमा लगानी गर्ने क्रम पनि बढ्दो छ । यी वस्तु एकपटक चोरी भएमा भेटिने सम्भावना निकै कम हुन्छ । राज्य त जनताको अभिभावक हो । त्यसैले, सरकारले जनताको लगानीको सुरक्षा गर्न आवश्यक छ । त्यसका निम्ति आवश्यक ऐन, कानून ल्याउनुपर्यो वा व्यवस्था गर्नुपर्यो ।

प्रकाशित मिति: कार्तिक १७ २०८३, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend