धरानः अब धरान भित्रिने कुखुराको पनि पिसिआर परीक्षण गरिएको हुनुपर्ने नियम बनाइएको छ । धरान उपमहानगरपालिकाले यस्तो नियम बनाएको हो ।
धरान भित्रयाइने बोइलर कुखुराको स्वास्थ्य परीक्षण, ल्याउने व्यवसायीहरूको पिसीआर परीक्षण र कुखुरा ल्याइएको क्षेत्रबाट अनिवार्य प्रमाणसहितको बिल ल्याउनुपर्ने बाध्यकारी नियम बनाएको हो । अब ब्रोइलर कुखुरा भित्रयाउँदा व्यवसायीले यी नियम पालना नगरे कुखुरा फिर्ता गरिनेछ । धरानमा कोरोनाको त्रास बढ्दै गएपछि मासुमा स्वच्छन्दता र कोरोना नफैलियोस् भनेर यस्तो नियम बनाइएको धरान उपमहानगरपालिका पशु स्वास्थ्य शाखाका प्रमुख महेन्द्र पैकाराले जानकारी दिए ।
धरान उपमहानगरपालिकाका मेयर तिलक राईको उपस्थिति, धरान उपमहानगरको बजार अनुगमन समितिकी संयोजक एवम् उपप्रमुख मञ्जु भण्डारी सुवेदीको अध्यक्षतामा सोमबार मासु व्यवसायी, किसान, डिलर र उपमहानगरका पदाधिकारीबीच बसेको बैठकले कुखुराको मासुको मूल्य पनि निर्धारण गरेको छ ।
यस्तै, धरानमा ब्रोइलर जिउँदो कुखुराको मासुको मूल्य तोकिएको हो । जिउँदो कुखुराको मूल्य प्रतिकिलो २२० रुपैयाँ बनाइयो भने मासुको खुद्रा मूल्य ३२० रुपैयाँ तोकिएको छ । यसलाई अनुगमन तथा अध्ययन गर्नका लागि शाखाका प्रमुख पैकाराको संयोजकत्वमा ९ सदस्यीय समिति समेत गठन भएको छ । सभागृहमा उपमहानगरपालिका, कृषक, डिलर, मासु व्यवसायीसहितको बैठकले मासुको मुल्य निर्धारण गरेको हो ।
अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले डिलरबाट खुद्रा व्यवसायीहरुले जिउँदो कुखुरा ३५० रुपैयाँ प्रतिकिलोसम्म खरिद गरिरहेका थिए भने व्यवसायीहरुले उपभोक्ताहरुलाई ३८० रुपैयाँसम्म प्रतिकिलोमा मासु बिक्री गरिरहेका थिए ।
सरकारले गरेको लकडाउन तथा निषेधाज्ञाका कारण कुखुराको मासुको मूल्य ओरालो लाग्दै गएको थियो भने सर्वसाधारणले मासुसमेत किनेर खान पाएका थिएनन् ।