धरानः धरानमा चार सातापछि लकडाउन खुलेको छ । कोरोना संक्रमित थपिँदै गएपछि यहाँ लकडाउन आयोजना गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले लकडाउनलाई केही खुकुलो बनाउने निर्णय पनि गरेको छ । योसँगै बैंक तथा वित्तीय संस्था पनि खुल्न थालेको छ । पसल १० बजेसम्म सञ्चालन हुन्छ भने बैंक तथा वित्तीय संस्था ३ः०० बजेसम्म खोल्ने बैंकहरूका पदाधिकारीले जनाएका छन् ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले जारी गरेको सूचनामा भनिएको छ– बैंक तथा वित्तीय संस्था नेपाल सरकारको पूर्व निर्णयअनुसार कार्यालयमा भीडभाड नहुने गरी सञ्चालन गर्ने । तर धरान–१२ स्ति नेपाल एसबिआई बैंकमा यस्तो अवस्था छैन ।
कोरोना संक्रमणको जोखिम बढिरहेको समयमा बिहीबार यहाँ पेन्सन लिनेको भीड लागेको छ । भूतपूर्व गोर्खा सैनिक र उनीहरूका आफन्तबैंकमा पेन्सन लिन भीड लागेको छ । भारतीय सेनामा कार्यरत् भूपुको पेन्सन बैंकमा राखिदिने गरेको सैनिककी पत्नी प्रतिमा राईले बताइन् । ‘यतिका दिनको लकडाउनले खर्चमा समस्या थियो, खुल्नेदिनै पुगौंला भनेर आएको, आउँदा यहाँको लाइन देखेर ‘आत्तेस’ लागेर आयो तर पनि जोखिम मोलेरै भएपनि पैसा झिक्नैपरयो ।’
टोकन सिष्टममा भएपनि सेवाग्राहीको चापले कोरोना संक्रमण फैलिन सक्ने जोखिम बढेको हो । भीडका कारण भुक्तानी लिन असहज भई सेवाग्राहीलाई सास्ती समेत छ । ‘दिनभरी लाइनमा बसेर भुक्तानी लिनु पर्दा आफू बिरामी परिएला जस्तो भयो, थुचुक्कै भुइँमै बस्नुपर्ने अवस्था समेत आयो’, धरानका भुपु सैनिक वीरबहादुर राईले भने । बैंकले भत्ता रकम भुक्तानीको सहज व्यवस्थापन गर्न नसक्दा वृद्धवृद्धा, अशक्तले निकै सास्ती खेपिरहेको देखिएको उनले गुनासो गरे ।
अधिकांशले मास्क लगाएपनि भीडसहित सामाजिक दुरी भने कायम भएको देखिएन । बैंकले पनि यस्तो उदेकलाग्दो भीड देखेपनि नदेखेझैं गरिहेको छ अर्थात् चासो देखाएको पाइएन । यस्तो बेलामा बैंक प्रशासनले पनि ‘फिजिकल डिस्टेन्स’ कायम गर्न आग्रह गर्नुपर्ने होइन र ? अहिले धरानमा बैंकका कर्मचारीलाई पनि कोरोना संक्रमण पुष्टि भइसकेको छ । यस्तो भीडले सेवाग्राही अनि बैंकका कर्मचारीलाई पनि कोरोना सर्दैन र ?
बैंकका शाखा प्रमुख अमित कोइरालालाई हामीले सोध्यौं– बैंक छेऊछाउ त भीडभाड देखियो त सर ?
उनले जवाफ फर्काए– बाटोमा गएर केही सक्दिनौं, सेवाग्राहीले नै बुझ्नुपर्ने हो नि ।
फेरि हामीले सोध्यौं– एकपल्ट त सेवाग्राहीलाई बैंकले सम्झाउने दायित्व हो नि ।
उनी जवाफ फर्काउँछन्– हामीले टोकन बाँडिदिएको छौं, भीडभाड नगरौं भनेर भनिरहेका छौं तर सेवाग्राहीले बुझेनन् । ‘भीडका कारण आज बैंकको काउण्टरका दुई ढोकामा चुकुल लगाएर चेकिङ हुन्छ अनि मात्रै प्रवेश दिन्छौं ।’ उनले भने ।
फोटोः हाम्रो कोशी आवाज


