धरानः अहिले निरन्तर सुनको मूल्य घटिरहेको छ । बढेर १ लाख रुपैयाँभन्दा माथि पुगेको सुनको भाउ निरन्तर झरिहेको छ ।
२३ साउनमा नेपाली बजारमा तोलाको एक लाख ३ हजार ५०० रूपैयाँ पुगेको सुनको भाउ आज ९५ हजार ८०० रूपैयाँ तोकिएको छ । करिब एक महिनाको अवधिमा सुनको भाउ तोलामा ८ हजार रूपैयाँले ओरालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्य कायम गर्नेक्रममा सुनको भाउ तोलामा ३०० रूपैयाँले घटाएको छ ।
हिजो तोलामा ९६ हजार १०० रूपैयाँ रहेको सुनको भाउ आज ९५ हजार ८०० रुपैयाँ कायम छ । यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा ९५ हजार ३०० रूपैयाँ कायम भएको छ भने चाँदीको मूल्य एक हजार ३१० रूपैयाँ तोकिएको छ ।

अगष्टमा अमेरिकामा १३.७ लाख मानिसले रोजगारी पाएपछि त्यहाँका बेरोजगारी दर घटेको छ । जसकारण, बेरोजगारी भत्ताका लागि आवदेन दिनेहरुको संख्या बढेर ८.८१ लाखमा आइपुगेको छ ।
एजेन्सीहरूका अनुसार अमेरिकामा बेरोजगारी बढ्दा सुनको भाउ बढ्छ । साथै, अमेरिकामा बेरोजगार घट्दा सुनको मूल्य पनि घट्छ । अमेरिकी अर्थतन्त्रले लय लिँदा डलरको भाउ मजबुत हुँदा सुनको भाउ घट्ने गरेको छ । कोरोनाले थलिएको अमेरिकी अर्थतन्त्रमा निरन्तर सुधार आएमा आगामी दिनमा सुनको मूल्य थप घट्छ ।