धरानः विश्व अल्जाइमर महिना प्रत्येक सेप्टेम्बर महिनामा सन् २०१२ देखि मनाउने गरेको भएतापनि २१ सेप्टेम्बरका दिन विश्व अल्जाइमर दिवस सन् १९९४ बाटनै मनाउन थालिएको हो । यो महिना र विशेषगरी २१ सेप्टेम्बरको दिन डिमेन्सिया (स्मरण शक्तिमा क्रमिक ह्रास हुन गई स्मरण शक्ति नै नहुनु) सम्बन्धी जागरूकता र डिमेन्सिया वरिपरि रहेको कलङ्कलाई चुनौती दिन अन्तर्राष्ट्रिय अभियानको रुपमा परिचित छ ।
Alzheimer Disease International (ADI) ले विश्वव्यापीरूपमा गरेको एक अध्ययन अनुसार प्रत्येक ३ जना व्यक्तिमध्ये २ जनाले यो विश्वास गर्दछन् कि उनीहरूको देशमा डिमेन्सियाको बारेमा थोरै व्यक्ति वा केहीले मात्र बुझ्न सकेका छन् । झन् नेपाल जस्तो मुलुकको अवस्था यही अनुरुप अनुमान गर्न सकिन्छ ।
डिमेंशियामा मस्तिष्कमा भएका कोशिकाहरुमा एक प्रकारको खराब प्रोटिन जम्मा हुन्छ र जसले गर्दा हाम्रो स्मरण शक्तिमा क्रमिक ह्राश हुदै जान्छ र अन्तत्वगत्वा स्नायु प्रणालीले पुरै काम गर्न छाड्छ क्ष् यो रोगमा स्मरण शक्तिको अलावा व्यक्तिको सोच, व्यवहार र भावनालाई असर गर्दछ। यो गहन समस्या हो । प्रत्येक व्यक्तिले डिमेन्शियाको अनुभव आफ्नै तरिकाले गर्दछन्, अन्ततः प्रभावित व्यक्तिहरू आफैंको हेरचाह गर्न असमर्थ हुन्छन् र दैनिक जीवनमा जिवनोपार्जन गर्न परिवार वा अरु कसैको मद्दतको आवश्कता पर्दछ ।
डिमेन्सियाका १०० भन्दा बढी प्रकारहरू छन् । डिमेन्सियाको सबैभन्दा प्रमुखरूप भनेको अल्जाइमर रोग हो । डिमेन्सियाका अन्य लक्षणहरु यस प्रकार छन् ।
लक्षण
स्मरण शक्ति गुमाउनु, सही शब्दहरू फेला पार्न वा अरु व्यक्तिले के भनिरहेका छन् बुझ्नमा कठिनाइ हुनु, पहिले आफुले गर्दै आएका नियमित कार्यहरू गर्न कठिनाई हुनु, व्यक्तित्व र मुड परिवर्तन विना कारण परिवर्तन हुनु आदि ।
चाँडो निदान हुनु आवश्यक
विश्व अल्जाइमर संगठनको प्रतिवेदनमा भनिएको छ, प्रत्येक ४ सेकेन्डमा विश्वमा १ जना डिमेन्सियाका रोगी देखा पर्छन् ।
डिमेन्सिया मस्तिष्कमा लाग्ने एक प्रकारको रोग हो । यो रोग लागेपछि मानिसले गर्दै आएका उच्चस्तरीय मानसिक क्षमताका कामहरू गर्न सक्दैन । त्यो व्यक्तिको स्मरणशक्तिमा ह्रास आउनु, नयाँ कुरा सिक्न नसक्नु र स्मरणमा नै नरहनु, जसले गर्दा जीवनयापनमा नै समस्या उत्पन्न हुन जान्छ । परिवारका सदस्य वा छरछिमेकीहरूले भुलक्कड भएको औंल्याउनु र स्वयं व्यक्तिलाई भने त्यतिसम्म बिर्सिएको महसुस नहुन सक्छ ।
जब यो रोगले चाप्दै र ग्रसित पार्दै जान्छ, व्यक्तिलाई समय, ठाउँको हेक्का रहँदैन र यहाँसम्म कि आफ्नै परिवारको सदस्यलाई चिन्न पनि कठिन पर्छ । आफूले प्रयोग गरिराखेको सामान चिन्न नसक्नु वा त्यो सामान प्रयोग गर्न नै नआउनु, आफूले राखेको सामान भेट्न नसक्नु यहाँसम्म कि ट्वाल्ल परेर केही बिर्सिएजस्तो गरेर हेरिराखेको देख्न सकिन्छ । डिमेन्सिया लागेको व्यक्तिको स्वभाव परिवर्तन भएको स्पष्ट महसुस हुन्छ भने कतिपय व्यक्तिहरू शंकालु हुन जान्छन् ।
डिमेन्सिया रोग लाग्ने मुख्य कारण नै बढी उमेर हो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा आउने ६० वर्षमाथिका व्यक्तिलाई जाँच गरेका आधारमा ११.५ प्रतिशतलाई डिमेन्सिया भएको देखाउँछ । विश्व अल्जाइमर संगठनले नेपालका लागि सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०१५ सम्म ७८ हजार, सन् २०३० सम्म १,३४,००० र सन् २०५० सम्म २,८५,००० डिमेन्सियाका बिरामी नेपालमा हुन सक्ने अनुमान गरिएको छ । डिमेन्सिया लाग्ने विभिन्न कारणहरूमध्ये कतिपय कारण औषधि उपचार गरेर ठीक पार्न सकिन्छ तर अल्जाइमरजस्तो रोग लागेपछि धेरै गर्न सकिँदैन । त्यसैले कस्तो प्रकारको डिमेन्सिया हो र केले गर्दा भएको हो त्यो पत्ता लगाउनु अत्यन्तै जरुरी हुन जान्छ । त्यसैले चाँडोभन्दा चाँडो निदान हुनु आवश्यक हुन्छ ।
डा. सापकोटा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका एसोसिएट प्रोफेसर हुन् ।